यौन हिंसाको बढ्दो ग्राफः ६ वर्षमा १६ हजार उजुरी

डिसी नेपाल
२६ जेठ २०७९ १:४६

काठमाडौं । पछिल्लो पटक देशभर महिला हिंसा र बलात्कारका घट्नाहरु बढिरहेका छन् । यौन हिंसा, महिलामाथि भएको दूर्व्यवहार र हत्या जस्ता जघन्य प्रकृतिका घट्ना बढिरहेका कारण प्रहरीको सक्रियता पनि बढेको छ । महिलाको बलात्कार, हत्यादेखि मिटु अभियान समेत यौन दूर्व्यवहारसँग जोडिएका छन् । प्रहरीले पनि यी सबै प्रकारका घट्नाक्रमलाई छुट्याएर उजुरी लिने र कारबाहीको प्रकृया अघि बढाएको देखिन्छ ।

देशभर नेपाल प्रहरीका कार्यालयहरुमा ६ वर्ष यता आएका मुद्धाको विवरणलाई हेर्ने हो भने पनि महिलाहरु विस्तारै आफूमाथि भएका दूर्व्यवहारको बारेमा उजुरी दिन प्रहरी कार्यालय पुगेको देखिन्छ । नेपाल प्रहरी प्रधानकार्यालयले दिएको विवरण अनुसार वित ६ वर्षमा १६ हजार ५ सय १० यौनजन्य हिंसा र दूर्व्यवहारका घटना भएका छन् । महिलाहरुले आफूमाथि भएका अन्यायपूर्ण घट्नाक्रमलाई विस्तारै विस्तारै प्रहरी समक्ष जाहेरी दिन थालेकै कारण यो तथ्यांक आएको प्रहरीको दाबीछ ।

प्रहरीले आफ्ना कार्यालयमा आएको जाहेरीलाई नेपालका प्रचलित कानुनअनुसारका विभिन्न आठ प्रकारले ती घटनाको तथ्यांकहरु राखेको छ । जसमा जबर्जस्ती करणी, जबर्जस्ती करणी र हत्या, मानव बेचबिखन तथा जबर्जस्ती करणी, अपहरण तथा जबर्जस्ती करणी, बालविवाह गरी जबर्जस्ती करणी पर्छन् । यसबाहेक जबर्जस्ती करणी उद्योग, बालयौन दुराचार\दूर्व्यवहार र अप्राकृतिक मैथुन यौन हिंसा तथा दूर्व्यवहारजन्य भनी प्रहरीको तथ्यांकमा उल्लेख छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार सबै तथ्यांकमा आएका उजुरीहरुलाई प्रहरी मुद्धा चलाएको र कानुनी रुपमा निरुपण हुने विषय भएकाले अदालतमा पठाएको छ । ‘प्रहरीले अनुसन्धानपछि सबै उजुरीलाई कारवाहीका लागि अदालतमा पठाएको छ’, एसएसपी केसीले भने ।

प्रहरी प्रधान कार्यालयले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७३\७४ मा बलात्कारका १ हजार १ सय ३१ र बलात्कार प्रयासका ५ सय ३६ घटना दर्ता भएका थिए । यस्तै आव २०७४\७५ मा बलात्कारका १ हजार ५ सय १४ वटा घटना दर्ता भएकोमा जबर्जस्ती करणीका १ हजार ४ सय ८०, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १०, अपहरण तथा जबर्जस्ती करणीका २४ वटा थिए ।

यस्तै आर्थिक वर्षमा जबर्जस्ती करणी उद्योग (बलात्कार प्रयास) का ७ सय २७ घटना दर्ता भएको तथ्यांकले देखाएको छ । अप्राकृतिक मैथुनका २३ वटा जाहेरी दर्ता भएको भएका थिए । आर्थिक वर्ष २०७५\७६ मा भने यौनजन्य हिंसाका घटना दर्ता हुने दर ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । सो वर्षमा निर्मलाजस्तै ११ जनाको बलात्कारपछि हत्या भएको थियो ।

सोही आर्थिक वर्षमा बलात्कारका २ हजार ३ सय ६ वटा घटना प्रहरीमा दर्ता भएका थिए । जर्बजस्ती करणीका २ हजार २ सय ३०, जबर्जस्ती करणीपछि हत्याका ११, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १५, अपहरण तथा जबर्जस्ती करणीका ४७ र बालविवाह गरी जबर्जस्ती करणीका तीनवटा घटना छन् ।

यस्तै यौन हिंसाका अन्य घटनामा जबर्जस्ती करणी उद्योगका ७ सय ८६, बालयौन दुराचार\दूर्व्यवहार का २ सय ११ र अप्राकृतिक मैथुनका २४ घटना प्रहरीमा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६\७७ पनि जबर्जस्ती करणीका २ हजार १ सय ४४, जबर्जस्ती करणी गरी हत्याका दुई, मानव बेचबिखन तथा जबर्जस्ती करणीको एक र अपहरण तथा जबर्जस्ती करणीका ३४ मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७७\७८ मा २ हजार ६ सय १३ जना बलात्कृत भएका थिए । बलात्कारका घटनामा जबर्जस्ती करणीका २ हजार ५ सय ३२, जबर्जस्ती करणीपछि हत्याका चार, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १० र अपहरण तथा जबर्जस्ती करणीका ६७ वटा जाहेरी दर्ता भएका छन् । यस्तै सोही आर्थिक वर्षमा जबर्जस्ती करणी उद्योगका ७ सय ३६, बालयौन दुराचार÷दूर्व्यवहारका २ सय ८१ र अप्राकृतिक मैथुनका ३६ वटा उजुरी दर्ता भएका थिए ।

चालु आर्थिक वर्ष २०७८\७९ का नौ महिनाको तथ्यांक हेर्दा पनि यौनजन्य अपराधका घटनाको ग्राफमा कुनै कमी आएको देखिँदैन। चैत मसान्तसम्मको तथ्यांकअनुसार जबर्जस्ती करणीका १ हजार ६ सय ७७, जबर्जस्ती करणीपछि हत्याका आठ, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १६, अपहरण गरी जबर्जस्ती करणीका ४५ र बालविवाह गरी जबर्जस्ती करणीको एकवटा जाहेरी प्रहरीमा दर्ता भएका छन ।

प्रहरीमा आएका उजुरीलाई यसरी हेर्दा महिला हिंसा, बलात्कार र यौन दूर्व्यवहार र हत्याको ग्राफ उकालोलाग्दो देखिन्छ । कानुनले पनि अहिलेको अपराध संहितामा कुनै महिलाको भित्री वस्त्र खोलेमा वा खोल्ने प्रयास गरेमा, भित्री वस्त्र लगाउन वा खोल्न कुनै एकान्त ठाउँमा लगेमा यौन दुर्व्यवहार हुने उल्लेख गरिएको छ ।

त्यसअनुसार पनि उजुरीको चाङ लागेको प्रहरीको मुद्धा शाखामा रहेका अधिकारीको दाबी छ । ‘महिलाहरुले आफूलाई असुरक्षित महशुस गरेकै कारण उजुरी आउने गरेको छ हामीले मिहिन ढंगले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा पठाउने गरेका छौ’, एक प्रहरी अधिकारीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *