गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

डिसी नेपाल
३१ जेठ २०७९ १०:५४

गोरखा। ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍याे। यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,’ उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन्।

पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ। केही वर्ष अघि नै श्रीमानकाे मृत्यु भयो, छोरी बिहे गरेर गइन्। त्यसपछि उनी घरमा एक्लै छिन्। घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन्।

कपाल सेतै फुलेका छन्। दुई/चार वटाबाहेक सबै दाँत झरिसके। बुढेशकालले छपक्कै छोपिसक्यो। तर, उनलाई खेतीपाती नगरी सुखै छैन। घर आसपासमै उनको ४ रोपनी खेत छ। यही खेतमा सिजन अनुसार धान, मकै लगाउँथिइन्।

गत बिहीबार पनि वर्षासँगै आएको बाढीले उनको खेत र घर डुब्यो। खेत र घरमा बाढी पसेपछि उनको मन पनि पीडामा डुबेको छ। घर र खेत जति डुबेपनि सरकारले उनलाई राहत कहिल्यै दिँदैन्, दिएको उनलाई याद पनि छैन। तर, उनी पीडामा डुबेको आफ्नो मनलाई भने ‘जिन्दगी यस्तै त होनी’ भन्दै थम्थमाएर राहत दिइरहन्छिन्।

‘धान काट्ने सुरु गर्दागर्दै बिहीबारको बाढीले सोत्तर बनायो। भोलिपल्ट भिजेका धानको बाला टिपेर पानीमा धोएँ, १० पाथी जति भयो। त्यही पनि तलामा लगेर राखेकी छु, पाँच मुरी धान भित्रने आशा गरेको, १० पाथी भित्रियो’, उनले दुख पोख्दै भनिन्, ‘घरभित्र पनि पुरै हिलो पसेको थियो। दुई दिन लगाएर बल्लतल्ल फालेँ।’

भित्र्याउने बेला भएको धान बाढीले डुबेर क्षति भएपछि उनको खासै कुनै काममा सुर जाँदैन। बाढी पसेदेखि घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दै उनको दिन बित्न थालेको छ।

‘तीन वर्ष भईसक्यो बाढीले घर र खेत पुर्न थाल्याे, कहिले त घरै बगाउँछ क्या हो जस्तो डर लाग्छ। क्यार्नु ? अन्त गएर बस्ने ठाउँ पनि छैन। भएजति सबै यहीँ छ। चटक्कै छाडेर पनि कहाँ जानु ?’, उनी तीन वर्षयता बाढीले दिएको पीडा सुनाउँछिन्।

यस क्षेत्रमा मात्रै करिब ३५ सय रोपनी किसानका खेतमा बाढी पसेको वडा कार्यालयले जनाएको छ। चुतीखोला र खारखोला आसपासका खेतमा बाढी पसेपछि भित्र्याउने बेला भएको चैते धान र मकै बाली सोत्तर भएको छ। कतिपयको बर्खे धान रोप्न ठिक्क पारेको खेतमा धार बदलेर खोला बगिरहेको छ । बाढिले लगेको पाँगो माटामा पुरिएका धान र मकै मिलेसम्म किसान जेनतेन झिक्दै छन्।

‘१९ रोपनीमा मकैँ र धान लगाएको थिएँ। पाक्ने बेला भाथ्यो। बाढीले पुर्‍याे। यसपालि त अन्नकै अभाव हुन्छ जस्तो छ’, स्थानीय रामबहादुर अधिकारी भन्छन्।

पालुङटार नगरपालिका–९ सिस्नेरीका टेकबहादुर नगरकोटीले अँधियामा खेत लिएर धान लगाएका थिए। उनले चैते धान लगाउँदा रोपार, बाउसे, हली गरेर ३५ हजार खर्च गरे । तर, धान काट्ने बेलैमा बाढिले सबै डुब्यो।

‘अँधियामा लिएर चैते धान लगाएको थिएँ। २५ मुरी जति उब्जनी हुन्थ्यो, बाढीले सबै डुब्यो। दुख गर्नु मात्रै भयो। आउँदो वर्षबाट अब यहाँ खेती नै गर्दिँन’, उनले भने। डुबेको खेतमा देखिएका अलिअलि बाला काटेर धोइधाइ गर्दैछन्।
‘डुब्नु डुबिहाल्यो। त्यही पनि अब केही मात्रै भएनि आउँछ कि भन्ने आश लाग्यो । के गर्नु ?’, नगरकोटी भन्छन्।

पालुङटार क्षेत्रमा मात्रै दुई सय भन्दाबढी किसानको खेतमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ। यहाँ नेताहरु चुनावको बेला भोट माग्न आउँछन्। अनेक आश्वासन देखाउँछन्, पीडित जनताले दिएको भोटबाट सरकारमा पुग्छन्। तर, जनताका पीडा सम्बोधन गर्न कुनै पहल गर्दैनन्।

‘संघ, प्रदेश स्थानीय सरकार छ। यी सरकार सबै चुप लागेर बस्या छन्। चुनावको बेला भोट माग्न चाँही सबै जना आउने, जनतासँग भोट माग्ने। भोट पाएर जितेर सरकारमा जाने तर जनता समस्यामा हुँदा बेवास्ता गर्ने, राहत दिन त परको कुरा हाे,’ स्थानीय खुतराज अधिकारीले गुनासो गरे।

बिर्दी र शेरा बजार खोला कटानले जोखिममा छ। एक दर्जन घर उच्च जोखिममा छन्। तत्काल रोकथाम तथा न्यूनीकरणका तटबन्धन नगरे ठूलो जनधनको क्षति हुनसक्ने स्थानीय बताउँछन्। अन्य फोटो ग्यालरीमा छन्।

‘खेत त प्रत्येक वर्ष बगाइरहेकै छ। यसपालिबाट घर नजिकै आइसक्यो। तत्काल तटबन्धन नगरे दर्जनौँ घर बगाउन सक्छ’, स्थानीय भुवन सेडाइँले भने।

यहाँका किसानका समस्या समाधान गर्नका लागि संघ र प्रदेश सरकारसँग हारगुहार मागे पनि कतैबाट सम्बोधन नभएको वडाध्यक्ष भेजराज पाण्डे बताउँछन्।

‘खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले प्रारम्भिक सर्वेक्षण गरेको थियो। त्यसका लागि करिब १६ करोड लागत लाग्ने अनुमान भएको थियो। हामीले स्रोत जुटाउन एउटा समिति बनाएर संघ र प्रदेश सरकारसम्म अनुरोध गरेका थियौं। तर, आजसम्म कतैबाट पनि सम्बोधन भएको छैन’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *