मलको अभावका कारण तराईमा धान खेतहरू अझै बाझो – Dcnepal

मलको अभावका कारण तराईमा धान खेतहरू अझै बाझो

बारा । रोपाइँको सिजनको मध्यमा पर्ने ‘आदरा’ अर्थात् असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाईं सुरु पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आद्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्ता सम्म ढिलो भएको छ ।

त्यस माथि मल पनि नपाइने भए पछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरु गरेका छैनन् । यसरी मल नपाइने भए पछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाई प्रभावित भएको छ । खेतहरु बाँझै रहेका छन् ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिचाईंको समस्या दोहोरिने गरेको भए पनि किसानहरुले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए ।

कृषी ज्ञानकेन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरुमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोज मैं काटिने सारो धान छिटफुट रोपिएका छन् ।
तर यो पटक भने यी जिल्लामा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरु तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ ।

यता कृषी सामग्री कम्पनीको बिरगंज स्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । आसारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए ।

झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए ।

त्यस्तै साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडले डिएपीको बितरण यहाँ सुरु गरे पनि माग भन्दा निकै कम परिमाणमा आपूर्ती हुँदा त्यसबाट अझ बितरण कसरी गर्ने भने सकस भएको छ ।

गत जेठ २१ मा साल्ट ट्रेडिङ्गको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुँन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको बिरगंज स्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो