विनियम पुनर्लेखन नै गर्दैनन् सहकारीहरु

डिसी नेपाल
११ असार २०७९ ७:५६

पाँचथर। सहकारी संस्थाहरु समाज रुपान्तरण र मानव विकासमा अग्रणी मानिने भएपनि कानुनको पालना नगर्दा उनीहरु आलोचनाको केन्द्र बन्दै गएका छन् । देश संघीयतामा गएपछि सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७६ ले सहकारी संस्थालाई सहकारीको प्रदेश रजिष्टार कार्यालय मातहतमा रहने व्यवस्था गरेको छ।

ऐन र नियमअनुसार सहकारीहरुले विनियम पुनर्लेखन गरेर रजिष्टारबाट स्वीकृत लिनु पर्छ । यो वाध्यात्मक नियम १ नम्बर प्रदेशका करिव ६ सय सहकारीले अझै टेरेका छैनन् ।

रजिष्टार कार्यालयका सूचना अधिकारी मोहनराज भट्टराईले भने, ‘प्रदेश १ मा १ हजार ६५ सहकारी हाम्रो मातहतमा छन्, तीमध्ये करिव आधाले विनियम स्वीकृत गरेका छैनन् ।’ उनले आफ्नो मातहतमा रहेका सहकारीहरुको तथ्याङक संकलनको क्रममा रहेको जानकारी दिए । अर्थात समग्रमा ‘सहकारीको अवस्था के छ ?’ भनेर बुझन र खोज्न सकिने अवस्था देखिन्न ।

एक पालिकाभित्र कार्यरत सहकारीहरु पालिकाकै नियन्त्रणमा रहन्छन् भने एक भन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएका सहकारीहरुमात्र प्रदेश सहकारी रजिष्टारको कार्यालय मातहत रहने व्यवस्था छ ।

पाँचथरमा करिव ३ सय सहकारी संस्था छन् । दुग्ध, कृषि, बहुउदेश्यीय, चिया, साना किसान, सञ्चार, जडिबुटी, बचत तथा ऋण, स्वास्थ्य, विद्युत र पशुपालनसमेत ११ श्रेणीका सहकारी सक्रिय छन् ।

तीमध्ये १ सय ८० वटामात्र जिल्ला सहकारी संघमा आवद्ध रहेको पाँचथर सहकारी संघकी व्यवस्थापक पूनम लिम्बूले डिसी नेपाललाई बताइन् । अब, संघमा आवद्ध नभएका १ सय २० सहकारीको अवस्था के छ, भनेर बुझ्न सकिने अवस्था छैन ।

पाँचथरमा एक पालिकाबाहिर पनि कार्यक्षेत्र बनाएका सहकारी संस्था आधादर्जन छ। तीमध्ये हातेमालो कृषि सहकारीमात्र रजिष्टारको कार्यालयमा विनियम स्वीकृत गरेको रजिष्टारको कार्यालय जनाउँछ।

सहकारीहरुले सरकारी निकायको मातहत नै स्वीकार नगरेको यो अवस्थामा आफ्ना सदस्यहरुले जम्मा गरेको बचत हिनामिनादेखि अन्य ठगीका कृयाकलाप भए अदालतकै भर पर्नु पर्ने देखिन्छ। प्रदेश रजिष्टारको कार्यालयमा विनियम स्वीकृत नगरी कार्य सञ्चालन गरिरहेका सहकारीलाई रजिष्टारको कार्यालयले बढीमा ३ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

फिदिम नगरपालिका कार्यक्षेत्रमा ६० सहकारी संस्था दर्ता भएका छन् । तीमध्ये आधाजति निस्कृय रहेको नगरपालिकाको सहकारी शाखा प्रमुख सरस्वती शिवाकोटी ओझाले बताइन् । उनका अनुसार २०७४ देखि नै ‘फलोअप’ नभएर धेरै सहकारीहरु शुन्यमा झरेका हुन् । तिनीहरुलाई ब्युताउने प्रयाश भइरहेको प्रमुख शिवाकोटी ओझाको भनाइ छ ।

निस्कृय रहेका सहकारीलाई एकीकरण गरेर वा सम्भव नभए खारेजी नै गर्ने तयारी छ । हालै ४ वटा वडामा एकीकरण तालिम गरेपछि २ वटा सकृय रहेको उनले बताइन् । उनले भनिन्, ‘हामी नगरपालिका भित्रका सबै सहकारीलाई सकृय बनाउन योजनासहित लागिपरेका छौं ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *