असार १५ : ‘धानको बीउसँगै एकअर्कामा माया, प्रेम र सद्भावको बिजारोपण होस् !’ (भिडियोसहित)

डिसी नेपाल
१५ असार २०७९ ६:२८

काठमाडौं । आज असार १५ । दही चिउरा खानु भयो ? दही चिउरासंगै आँप वा केरा मुछेर खानु भयो कि ? हरेक वर्ष असार १५ मा कृषि पेशामा संलग्न परिवारका सबै हिलोसँग खेल्दै, पानीसँग पौंठेजोरी खोज्दै, छुपुछुपु धान रोप्ने र दही चिउरा खाने चलन छ।

नेपाल कृषिप्रधान देश। अन्नहरु मध्ये चामलको भात नेपालीहरुको भान्सामा अनिवार्य चाहिन्छ। त्यसैले धानको रोपाईँलाई नेपाली कृषकहरुले पर्वकै रुपमा मान्ने गरेका छन् । पहाडी भेगमा त पालो गरेर सबैको खेतमा धान रोप्न सामुहिक रुपमा सबै गइदिने चलन छ।

धान रोपी सकेपछि दही चिउरा खान दिइन्छ।  त्यसैले असार १५ गतेलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाइन्छ।  नेपाल सरकारले वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालको हो। अहिले जताततै धान दिवसलाई उत्सवको रुपमा मानिने गरेको छ।

धान दिवसमा धान रोप्नकै लागि मोडलहरु, नायक नायिकाहरु र नेताहरु पनि हिलोमा खेल्ने चलन पछिल्लो समय बढेर गएको छ। असार १५ कै दिन हिलोमा लतपतिएका कृषिमन्त्रीले महिलालाई अंगालो हाल्ने प्रयास गरेको तथा मोडलहरुलाई हिलोमा कुस्ती खेलेको शैलीमा पुरुषहरुले गरेको व्यवहारले बितेका बर्षहरुदेखि नै धान दिवस सामाजिक सञ्जालमा भाइरल नै भइरहेको छ।

साच्चिकै माना रोपेर मुरी फलाउने दिनको रुपमा असार १५ लाई मनाउने किसानहरुले भने सामाजिक र आर्थिक महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाइन्छ। पछिल्ला बर्षहरुमा कोरोना महामारीले किसानलाई खुलेर धान दिवस मनाउन नदिएको भएता पनि यस बर्ष जसरी चाडपर्वहरुमा उत्साह थपिएको छ।

धान दिवसलाई कृषि विभाग, कृषि मन्त्रालय लगायत किसान र किसानसँग सरोकार राख्ने संघसंस्थाहरुले यसलाई असार १५ गते पर्वकै स्वरुपमा मनाउने गर्दछ ।मध्य गर्मीको समयमा युवा लाठे र युवती रोपाहरुले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कसैले यसलाई कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् पनि भन्ने गरेका छन् ।

दही चिउराले शरीरमा शीतलता मात्र भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । गर्मीमा दहीले सितलता दिने भएकोले पनि दहीलाई विशेष महत्व दिएको हो । पहिले पहिले असार १५ मा रोपाई सक्किने गरेको थियो । रोपाईको अन्तिम दिन रमाइलो गरेर दही चिउरा खाने गरिएको थियो । हिजो आज धान रोप्ने काम बर्षातको पानीमा भर पर्नुपर्ने किसानहरुले असार १५ अघि जेठबाटै र पछि साउन, भदौसम्म पनि रोपिरहेका हुन्छन् ।

किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । बुढापाकाहरुले दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने उनी बताउँछन् ।

असार महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । ‘असारे महिनामा पानी पर्यो रुझाउने’ लगायतका विभिन्न रोमाञ्चक र जनमानसमा प्रचलित गीत पुस्तौंदेखि असारको सेरोफेरोमा लेखिएको र गाइएको छ ।

पहिलेजस्तो रोपाइँका गीत खेतमा लाम लागेर धान रोप्दै सामूहिक रूपमा गाउने चलन भने विस्तारै हराउँदै गएको छ । जुम्लामा मार्सि चामलको लागि धान रोप्नका लागि विशेष कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । यहाँ संस्थागत रुपमा, समुदायको सम्पूर्ण परिवारहरु संलग्न भएर धान रोप्ने, गीत गाउने र दही चिउरा खाने परम्परा अहिले पनि उत्तिकै रोचक रुपमा मनाएको पाइन्छ ।

गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जसले गर्दा काम गर्ने खेतालाले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्छन् । यस्ता रोपाइँहरूको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्यस्तताका बीच थकाइ मारिने चाड हो ।

नारिएका दुई-चार हल गोरुका पछि भिडेका जोत्ने लाठेहरूको होर्रा फर्काउँदाको हप्कीदप्की, उता रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बीउ उखेलिसक्ने हतारोमा रहेका ब्याडेहरूको खैलाबैला । साच्चिकै संझदै कहिले आउला असारे १५ जस्तो लाग्छ, धेरै नेपालीलाई ।

हाम्रो देश भौगोलिक भूबनोटका कारण अकाशे पानीमा धानको रोपाइँ गर्नुपर्ने हुन्छ । हाम्रो देशमा यस वर्ष जेठबाटै बर्षा शुरु भएको र प्राय चार महिना मनसुन रहने भएकोले बर्षभरी पर्ने पानी मध्ये ८० प्रतिशत यही चार महिनामा पर्ने गरेको छ ।

धान रोप्ने आआफ्नै चलन भएजस्तै तराईतिर खेतका मालिक आफैं रोपाइँ गर्न पुगे खेतालाले हिलो छ्यापेर भगाउने चलन छ । असारे झरीले रोपाइँ राम्रो होस्, त्यो झरीको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस् अनि धानको बीउसँगै एकअर्कासँग माया प्रेम र सद्भावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस् । घरका छाना पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरू टालिँदै जाऊन् अनि तुहिने सपना जागृत हँुदै जाऊन् । भन्ने गरी असार १५ लाई विशेष रुप।मा मान्ने चलन छ ।

तर असार १५ मै किन खाइन्छ दही चिउरा ?

प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? पहिले रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन थियो । तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दही चिउरा खाने गरिन्छ । हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन । बजारमा दहीचिउरा बाह्रै महिना उपलब्ध छ ।

माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो । रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको हो ।

असारमा कामको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन जसले गर्दा पकाउनै नपर्ने र सबैका घरमा सहजै उपलब्ध हुनसक्ने भएकोले दही चिउरा खाने थिति नै बसेको देखिन्छ । सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो । गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन भएको हो ।

पहिले दही र चिउरा घरकै हुन्थे । तर अहिले दही र चिउरा दुवै धेरैजसो रोपाईमा किनेर नै ल्याइएको हुन्छ । भक्तपुर नगरभित्र करिब एकसय पचास घरपरिवारले परम्परागत रुपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरुले वार्षिक एक हजार पाँच सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु धौ (राजा दही) भन्ने प्रचलन पनि रहँदै आएको छ । त्यसैले सबै दही जुजु धौ होइन ।

तपाईहरुले पनि राजा दही अर्थात जु जु धौ नै ल्याएर दही चिउरा खाने हो की ? कुनै समय नेपालले ५५ हजार मेट्रिक टन धान विदेश निर्यात गर्थो, तर आजभोली नेपालले ठूलो मात्रामा उल्टै धान-चामल आयात गर्छ । कसरी शुरु भयो धान दिवस ? २०६१ साल अर्थात सन् २००४ मा ४३ वटा देशले संयुक्त राष्ट्र संघमा धान दिवसको रुपमा घोषणा गर्नकालागि संयुक्त अपिल गरेका थिए । जसमा नेपाल पनि सहभागी थियो । संयुक्त राष्ट्र संघबाट ‘धान दिवस’ को घोषणा भयो । ‘राइस इज लाइफ’ अर्थात ‘धान नै जीवन हो’ भन्ने नारा सहित धान दिवसको शुरुवात गरियो ।

‘भोकमरीबाट मुक्ति’ को नारा सहित धान उत्पादनलाई जोड दिन यो दिवसको परिकल्पना गरिएको हो । भोकमरीबाट बच्नको लागि सबैभन्दा उपयुक्त खाद्यन्नको रुपमा धानलाई संयुक्त राष्ट्र संघले देख्यो । विश्वमा शान्ति र सुरक्षा कायम गर्न स्थापना भएको संयुक्त राष्ट्र संघले धानमा जोड दिनुको प्रमुख ध्येय खाद्यबिना सम्भव नहुने मानव जीवन हो ।

धानको महत्व

सन् १९६६, मा विश्वभर नै भोकमरी फैलिदा भोकमरीबाट बच्नका लागि राष्ट्र संघले ‘धान’ लाई वर्ष बालीको रुपमा मानेको थियो । ‘भोकमरीबाट मुक्ति’ को नारा सहित उक्त वर्ष मुख्य बालीको रुपमा धानमा जोड दिएको थियो । विश्वमा शान्ति र सुरक्षा कायम गर्न स्थापना भएको संयुक्त राष्ट्र संघले धानमा जोड दिनुको प्रमुख ध्येय खाद्यबिना सम्भव नहुने मानव जीवन हो ।

यससँगै धान संसारकै लागि मुख्य खानाको रुपमा स्थापित भयो । संसारको मुख्य खाना नै धान थियो । अझ एसियामा ९० प्रतिशत धान खपत हुन्छ । नेपालमा दुई छाक भात खाने सिस्टम छ भने फिलिपिन्समा दिनको चार छाक भात खाने चलन छ । जसबाट पनि एसियामा नै ९० प्रतिशत धान उत्पादन तथा खपत हुने गर्छ । धानको महत्व यस प्रकारले रहेको छ कि, धान सुरक्षा भन्नु नै खाद्य सुरक्षाको रुपमा लिइन्छ ।

२०३१ साल तदुअनुसार १९७१ मा, धान निर्यातका लागि तराईका विभिन्न स्थानमा आठ वटा कम्पनी स्थापना भएको थियो । मेची धान चामल निर्यात कम्पनी, कोशी धान चामल निर्यात कम्पनी, सगरमाथा धान चामल निर्यात कम्पनी, नारायणी धान चामल निर्यात कम्पनी, जनकपुर धान चामल निर्यात कम्पनी, लुम्बिनी धान चामल निर्यात कम्पनी तथा सुदुर पश्चिमगरी आठ वटा धान निर्यात कम्पनी थिए ।

उक्त समयमा ५५ हजार मेट्रिक टन चामल नेपालबाट भारत, वंगलादेश लगायतका ठाउमा निर्यात हुने गथ्र्यो । कम्पनीहरूले सातौँ वर्षसम्म धानको निरन्तर रुपमा निर्यात गरिरहेका थिए । तर, आठौँ वर्षमा नाटकिय रुपमा नेपालमै पो धान आयात हुन थाल्यो । दशौँ वर्षसम्म पुग्दा ती आठै कम्पनी बन्द हुने स्थिति पुग्यो । आज ४७ वर्ष यता नेपालबाट धान निर्यात हुन्थ्र्यो भन्नु पनि मिथक सरह भएको छ ।

धान निर्यात बन्द हुनुको कारण: जनसंख्यामा वृद्धि नेपालको लागि सबैभन्दा ठूलो समस्याको रुपमा त्यस समय खडा भयो । जनसंख्या अनुसार जमिन भने बढेन । परम्परागत कृषि प्रणालीका कारण नेपालको उत्पादनले थेग्न सकेन । र, सो क्रमले अझ विकराल स्थिति लिन थाल्यो । पहिले हामी निर्यात गथ्र्यो, अहिले आयात गर्छौँ । यसलाई पूर्णतया पहिले कै स्थितिमा ल्याउन नेपालले पनि छुट्टै धान सुरक्षा मिसन कार्यक्रम गर्न जरुरी छ ।

पोषणको हिसाबले चिनो, फापर, कोदो, जौ जस्तो कृषि उपज स्वास्थका लागि पनि निकै फाइदाजनक मानिन्छ । दुर्गम स्थानमा जहाँ यस्ता पोषणयुक्त खाना उपलब्ध छन्, बाटो चामलको पहुँचसँगै भात नै सबै नेपालीको संस्कृति बन्यो । सरकारले अनुमान गरेको भन्दा पनि बढी आयात चामलमा गर्नु पर्यो र सो क्रमश अझ बढ्दै छ ।

धान निर्यातको अर्को कारण हो, खाद्यन्नबाट बनाइने पियपदार्थ । नेपालको कानुन अनुसार, कुनै पनि खाद्यन्नबाट पियपदार्थ बनाउन पाइदैन । देशका दुर्गम स्थानमा पुग्दा समेत पनि चामल पाइदैन तर, पियपदार्थ पाइन्छ । खानको लागि आवश्यक धानको प्रयोग पियपदार्थमा हुँदा अवश्य पनि चामलको माग बढ्छ । जसको कारण स्वतः बाहिरबाट आउने धानको खपत हुन्छ । यो एउटा हेक्का नगरिएको धान आयातको कारण हो ।
वर्षेका साथै चैत धानबालीमा जोड, रासायनिक र प्रारंगारिक मलको सन्तुलित प्रयोग, हरियो मलको प्रयोग गरिनु पर्छ । प्रविधिका लागि ५० औँ प्रविधि छन्, विज्ञको अभाव भने अवश्य नै छ । अर्को विषय जहाँ हामी चुक्यौँ, त्यो भने संचार क्षेत्रलाई दिन नसकेको स्थान रहेछ ।

नेपालका लागि सायद सफ्ट कर्नर भएको कारण नेपालमा भने निर्यातको लागि भारतले रोक गरेन । तर, अन्य देशमा भने भारतले निर्यातलाई ठप्प गरेको थियो । सबैको प्राथमिकता पहिले आफू बाँच्नु रहन्छ ।

बाँच्न पनि अरु देशको मुख ताक्नु पर्ने देखिन्छ । यस कारण पनि नेपाल धान, चामलमा आत्मनिर्भर हुनै पर्ने अवस्था छ । रैथाने, उन्नत, वर्णशंकर र जिएमओ (जिनेटिकल्ली मोडि फाइन्ड) गरी चार प्रकारको धानका बीउ प्रयोग हुने गर्छ । जसमा रैथाने र उन्नत बीउ किसानले आफैले उत्पादन गर्न सक्छन् भने, वर्णशंकर (हाइब्रिड) धान बीउ भने कम्पनीबाट किनि रहनु पर्ने हुन्छ । तुलनात्मक रुपमा रैथान भन्दा उन्नत अनि उन्नत भन्दा हाइब्रिड बढी धान बीउको उत्पादकत्व बढी हुन्छ ।

समग्रमा भन्दा ‘धानदिवस’ले औपचारिकता पाउनु पनि ठुलो विषय हो । ७७ जिल्लामा मनाउँदा पनि केही हदसम्म जनचेतनामा फैलन्छ । नेपालीहरूको ‘फुड ह्याबिट’ मा परिवर्तन पनि ल्याउनु पर्नेछ । यस खाद्य सुरक्षामा पनि टेवा दिन्छ । यसबाहेक, धानको वृद्धि आजको आवश्यकता मात्र होइन अतिआवश्यक भित्र परिसकेको छ ।

भिडियोमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *