पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ-म्याग्दी सडक अवरुद्ध

डिसी नेपाल
१५ असार २०७९ ८:२५

गलकाेट। निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।

यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध

दमौली– मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको खड्काले बताए।

ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।

उनले भने, “वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला–ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ । सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी मर्कामा परेका छन् । यहाँ असार लागेयता मात्र सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ ।

मङ्गलबार बाढी–पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर लामो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *