अविरल वर्षाको कारण तीन जिल्लामा डुबानको समस्या

डिसी नेपाल
१५ असार २०७९ १४:०५

काठमाडौं। अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन्।

झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार बाढी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मरेका छन् । पानीका कारण फाराममा करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

झापाकै गौरीगंज गाउँपालिका–४ सुकुम्बासी बस्तीमा मंगलबार कृष्णखोलाबाट बाढी पस्दा १५ घर डुबानमा परेका छन्। ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिका–१ खात टोलस्थित सिङिया खोलामा मंगलबार पानीको बहाव बढ्दा खात टोलमा रहेका करिब २६ र कटहरी गाउँपालिका–१ टाईगर टोलमा रहेका करिब ६० घरमा पानी पसेको छ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले ती घर परिवारलाई सुरक्षित ठाउँमा सारेको छ।

मोरङको जहदा गाउँपालिका-१ राजबंशी चोकमा रहेका करिब १४ घर र जहदा गाउँपालिका–२ हरीनगरामा रहेका करिब १०० सय घरमा मंगलबार सिङगीया खोलाको पानी छिरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले ती घरपरिवारका मानिसहरूलाई सुरक्षित ठाउँमा सारेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित राम प्रसाद घिमिरेको सिद्वार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रालिको गोदाममा मंगलबार पानी पस्दा गोदाममा रहेका प्लाई, फोरमाइका, ढोका आइटम र किचन बास्केट डुबानमा परी क्षति भएको छ । क्षतिको एकिन विवरण खुल्न सकेको छैन ।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार पानी पस्दा २ सय प्याकेट इस्क्रुप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *