इमानदार करदाता र उद्यमीलाई राज्यले सम्मान गर्नुपर्छ: रवि लामिछाने

डिसी नेपाल
२३ साउन २०८३ २०:०९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने इमानदार करदाता र उद्यमीहरूलाई राज्यले सधैँ सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सभापति लामिछानेले निजी क्षेत्र र उद्यमी-व्यवसायीहरू नै देशको आर्थिक मेरुदण्ड भएकाले उनीहरूका लागि सहज र सम्मानजनक वातावरण बनाउनुपर्नेमा जोड दिए।

सरकारको कार्यसम्पादनमाथि उठिरहेका प्रश्नहरूबारे टिप्पणी गर्दै उनले चार महिनाकै अवधिमा ठूलो परिवर्तन नदेखिए पनि सरकार सही दिशामा अघि बढिरहेको दाबी गरे। “सरकारले परिणाममुखी काम गर्न केही समय लिइरहेको छ, आगामी दिनमा यसको सकारात्मक नतिजा देखिनेछ,” उनले भने।

सत्ता साझेदार वा राजनीतिक शक्तिका रूपमा आफूहरू सरकारको कार्यशैलीप्रति सजग रहेको बताउँदै लामिछानेले भने, “हामी सरकारले गरेका राम्रा कामको समर्थन गर्छौँ, तर यदि सरकार आफ्नो बाटोबाट विचलित भयो वा गलत दिशामा गयो भने त्यसलाई सही बाटोमा ल्याउन र ‘कान समातेर’ खबरदारी गर्न सक्ने क्षमता हामीसँग छ।”

युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतामा जोड्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले विदेशिने बाध्यताको अन्त्य गर्न सरकार केन्द्रित रहेको बताए। मुलुकभित्रै अनेकौँ सम्भावनाहरू रहेको भन्दै उनले युवा उद्यमीहरूलाई ढुक्क भएर लगानी र उद्यम गर्न आग्रह गरे। युवाहरूको नवप्रवर्तन र उद्यमशीलताले नै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने भएकाले राज्यले युवाहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *