समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन

डिसी नेपाल
२३ साउन २०८३ २१:२३

म्याग्दी। विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

धवलागिरि गाउँपालिका समाजले आज काठमाडौंमा आयोजना गरेको समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरी रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए।

“ओझेलमा परेको अनुसन्धान र आविस्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ”, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भने, “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ।”

मन्त्री पुनका साथै धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौँमा बसोबास गर्ने म्याग्दीवासीहरूबीच म्याग्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन, पशुपालनको माध्यमबाट म्याग्दीलाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो।

म्याग्दीमा प्रमुख सामाजिक समस्याको रूपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रको सुधार हुन् नसक्ने मन्त्री पुनले बताए। “टोलटोलमा लगातार मेला जात्रा लगाउँदा किशोर किशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ”, उनले भने, “नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ।”

संघीय सरकारले यस वर्ष धवलागिरि गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला र अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगंगा गाउँपालिकाको चिम खोला जोड्ने दुई वटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने बताए।

बेनी–दरवाङ सडकको फापर खेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्खा सकिने बित्तिकै सुरु हुने मन्त्री पुनले जानकारी गराए। संघीय सरकारले म्याग्दीमा रणनीतिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने बताए।

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवङ्गत भएका म्याग्दीमा जन्मिएका पर्वतरोही निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानमा सरकारले उचित निर्णय लिने मन्त्री पुनको भनाइ थियो।

धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुन लगायतले म्याग्दीको सम्भावना, आवश्यकता भएका कामको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *