जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोखरेल

डिसी नेपाल
२३ साउन २०८३ १८:१०

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको मन र उनीहरूका समस्या बुझ्न नसक्दा निर्वाचनमा पार्टीका आन्तरिक रिपोर्टिङहरू गलत सावित भएको बताएका छन्।

शनिबार पुष्पलाल स्मृति दिवसका अवसरमा ‘मिसन पार्टी जागरण–२०८३’ अन्तर्गत ‘संगठन निर्माणमा देखिएका समस्याहरू ः संगठन सुदृढीकरण, प्रविधिको प्रयोग र आगामी कार्ययोजना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले निर्वाचनको नतिजाले पार्टीले जनताको मन पढ्न र जनताका कुरा बुझ्न छोडिसकेको देखाएको बताए।

उनले भने, ‘चुनावको नतिजा हेर्दा थाहा भयो, जनताको मन पढ्न हामीले छाडिसकेका रहेछौँ। जनताको कुरा बुझ्न छाडिसकेका रहेछौँ। जनताको मन पढ्न सकेको भए, कुरा बुझ्न सकेको भए हाम्रा रिपोर्टिङहरू असफल हुने थिएनन्। जनताको मन पढ्न नसकेको परिणाम के भयो भने हाम्रा रिपोर्टिङहरू गलत साबित भए।’

पोखरेलले जनताको मन बुझ्न सक्नेगरी पार्टीको संरचना र सञ्जाल निर्माण गर्नुपर्ने बताए। पार्टीको अभियानकै क्रममा यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ।

जनताको मन जित्नका लागि सम्पर्क र समन्वय विस्तार गर्दै जनताको नजिक पुग्नुपर्ने उनले बताए। जनताको नजिक पुगेपछि मात्रै उनीहरूका समस्या, पीरमर्का र सरोकार पहिचान गरी समाधानका लागि पहल गर्न सकिने उनको भनाइ छ।

उनले भने, ‘जनताको मन जितिन्छ कसरी त्यसमा काम गर्नुपर्ने छ। सम्पर्क समन्वयले विस्तारै जनताको नजिक पुगिन्छ होला। सम्पर्क समन्वयले नजिकै आउनेबित्तिकै मन त जितिँदैन होला। त्यसका लागि परेको पीरमर्का, समस्या र सरोकारहरूलाई पहिचान गर्ने र त्यसको समाधानका लागि पहलकदमी लिने, जनसरोकारका मुद्दाहरू पहिचान गर्ने र त्यसलाई समाधानका लागि अग्रसरता लिने कुराबाट जनसम्बन्धलाई बलियो र फराकिलो बनाउन सकिन्छ।’

महासचिव पोखरेलले वर्तमान परिस्थिति र समाजको सापेक्षतामा पार्टीका नीतिहरूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिए। पार्टीका नीतिलाई आजको समाजले बुझ्ने भाषामा प्रस्तुत गर्न सके मात्रै जनताले पार्टीका कुरा सुन्न थाल्ने उनले बताए।

परम्परागत शैलीमा माक्र्सवादलाई बोकेर अघि बढ्न नसकिने भन्दै उनले माक्र्सवादको सिर्जनात्मक प्रयोगको मान्यता अघि बढाइएको बताए। जनताको बदलिँदो चाहना र समाजको अवस्थाअनुसार पार्टीले आफ्ना विचार र नीतिलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *