विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ?
काठमाडौं। सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ।
प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सात वटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ।
देशका सबै ७७ जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोष रहेका छन्। ७७ वटा जिल्लामा रहेका विपद् व्यवस्थापन कोषमा हाल १ अर्ब ९ करोड ३० हजार रुपैयाँ रहेको छ।
प्राधिकरणका अनुसार प्रदेश विपद् व्यवस्थापन कोष अन्तर्गत प्रदेश नं.१ मा ४ करोड रुपैयाँ, मधश प्रदेशमा २ करोड ८० लाख ८४ हजार रुपैयाँ, बागमती प्रदेशमा ८ करोड रुपैयाँ, गण्डकी प्रदेशमा ६ करोड रुपैयाँ, लुम्बिनी प्रदेशमा ९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेशमा ३ करोड १४ लाख ६ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २६ करोड रुपैयाँ रहेको छ।
विपद्का घटना हुँदा खोज, उद्धार र राहत कार्यमा खर्च गर्ने उदेश्यले विभिन्न कोषहरु स्थापना गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment