बेलायती प्रधानमन्त्रीको बिजोग, ४० जना मन्त्रीले विद्रोह गरे, राजीनामाको बर्षा

डिसी नेपाल
२३ असार २०७९ १४:१९

काठमाडौं । अहिले बेलायतमा प्रधानमन्त्रीसँग विद्रोहको लहर चलेको छ । बोरिस जोन्सनको आफ्नै कन्जरभेटिभ पार्टीमा विद्रोह सुरु भएको छ । हालसम्म चार जना क्याबिनेट मन्त्रीसहित ४० भन्दा बढी मन्त्रीले पदबाट राजीनामा दिएका छन् । अब यस्तो अवस्थामा बोरिस जोन्सनको सरकार संकटमा आएको छ ।

तर बोरिस जोनसनको सरकारमा यो संकट कसरी आयो? यसको सुरुवात अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै भएको हो । दुवैले जुलाइ ५ मा पदबाट राजीनामा दिएका थिए । उनीहरूले बोरिस जोनसनको नेतृत्वमा आफूलाई विश्वास नभएको बताएका थिए ।

ऋषि सुनकले राजीनामामा सरकारले राम्रोसँग काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताएका छन् । सोही क्रममा साजिद जाविदले सरकारले राष्ट्रको हितमा काम नगरेको बताएका थिए । बोरिस जोनसनसँग माफी मागेर दुवैले राजीनामा दिएका हुन् । तर, दुवै सरकारमा छन् ।

ऋषि सुनक र साजिद जाविदपछि अर्का क्याबिनेट मन्त्री साइमन हार्टले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी बाहेक अर्का क्याबिनेट मन्त्री ब्रान्डन लुइसले पनि राजीनामा दिएका छन् ।

विद्रोहपछि बोरिस जोनसनमाथि राजीनामाको दबाब बढेको छ । विपक्षी दलले उनको राजीनामा माग गरेका छन् । तर, यसका बाबजुद पनि जोनसन राजीनामा दिने मुडमा छैनन् । जोनसनले आफूलाई मतदाताले छानेको बताए । बेलायतको राजनीतिमा अब के हुन्छ ? के बोरिस जोनसनले १० डाउनिङ स्ट्रिट (प्रधानमन्त्रीको निवास) छाड्नुपर्ने हुन्छ ?

मन्त्रीहरुको राजिनामाको प्रकृया नरोकिने विश्वास गरिएको छ । धेरै मन्त्री र सांसदले ऋषि सुनकको बाटो पछ्याउन सक्छन् । यदि यस्तो भयो भने जोन्सनको समस्या बढ्न सक्छ । हुनसक्छ जोनसनले थेरेसा मे (पूर्व प्रधानमन्त्री) ले जस्तै आफ्नै पार्टीमा भोटिङको सामना गर्नुपर्न सक्छ । तर, थेरेसा मेले भोट जितेकी थिइन् ।

तर राजीनामा किन ? विद्रोहको कारण के हो ? जसको नाम यस सम्पूर्ण विद्रोहको केन्द्रमा आउँदैछ त्यो नाम क्रिस पिन्चर हो। क्रिस पिन्चरलाई ‘सेक्स स्क्यान्डल’को आरोप लागेको छ । यस वर्ष फेब्रुअरीमा, जोनसनले क्रिस पिन्चरलाई पार्टीको उपप्रमुख सचेतकको रूपमा नियुक्त गरेका थिए ।

जुन ३० मा, बेलायती अखबार ‘द सन’ ले एउटा रिपोर्ट प्रकाशित गर्‍यो, जसका अनुसार क्रिस पिन्चरले लन्डनको एक क्लबमा दुईजना पुरुषलाई आपत्तिजनक तरिकाले छोएका थिए। यो रिपोर्ट आएपछि पिन्चरले उपप्रमुख सचेतकको पदबाट राजीनामा दिनुपरेको थियो । पिन्चरमाथि विगतमा पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो ।

अखबारको रिपोर्ट बाहिर आएपछि, उनको आफ्नै पार्टीले जोनसनलाई पिन्चरको आरोपको बारेमा थाहा भएको तर उनको विरुद्ध कुनै कारबाही नगरेको आरोप लगाए । १ जुलाईमा एक सरकारी प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई आरोपबारे जानकारी नभएको बताए। तर फेरि जुलाई ४ मा, एक सरकारी प्रवक्ताले भने कि जोनसन आरोपहरू बारे सचेत थिए, तर आरोपहरू प्रमाणित नभएको कारणले पिन्चरको नियुक्ति रोक्नु उपयुक्त ठानेनन् ।

५ जुलाईमा पहिले ऋषि सुनक र केही समयपछि साजिद जाविदले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि पार्टीमा राजिनामाको लहर चलेको छ । ६ जुलाईमा क्याबिनेट मन्त्री साइमन हार्टले पनि राजीनामा दिएका थिए । बीबीसीका अनुसार हालसम्म ४ जना क्याबिनेट मन्त्री, १६ मन्त्री, २१ निजी सचिव र ५ जना अन्यले राजीनामा दिएका छन् ।

बोरिस जोनसन यसअघि पार्टीगेट मुद्दामा फसेका थिए। उनलाई कोरोना लकडाउनका बेला पार्टी गरेको आरोप लागेको थियो । १९ जुन २०२० मा जोनसनको जन्मदिन थियो र यसै दिन डाउनिङ स्ट्रिटमा पार्टी आयोजना गरिएको ब्रिटिश मिडियामा दाबी गरिएको थियो । यो पार्टीमा ३० जना सहभागी थिए भने लकडाउनमा दुई जनालाई मात्रै सहभागी हुन दिइएको थियो ।

पार्टीगेट बाहिर आएपछि बोरिस जोनसनमाथि फेरि राजीनामाको दबाब बढ्यो । उनको आफ्नै पार्टीका मानिसहरु उनको विरोधमा उत्रिएका थिए । अप्रिल २०२२ मा, जोनसनलाई लकडाउन नियम तोडेकोमा जरिवाना पनि गरिएको थियो। जोनसन पदमा रहँदा नियम तोडेको आरोप लाग्ने पहिलो प्रधानमन्त्री हुन्।

जोनसन विरुद्ध पार्टीको आरोपमा संसदमा अविश्वासको प्रस्ताव आएको थियो । तर, यो अविश्वासको प्रस्ताव खारेज भयो । ३५९ सदस्यीय सदनमा जोनसनको पक्षमा २११ र विपक्षमा १४८ मत परेको थियो ।

अब के हुन्छ ?

४० भन्दा बढी मन्त्रीको राजीनामापछि जोन्सनमाथि राजीनामाको दबाब बढेको छ । उनलाई आफ्नै पार्टीका मानिसहरूले राजीनामा दिन आग्रह गर्न सक्छन्। भर्खरै गरिएको Yougov सर्वेक्षणमा, ६९ प्रतिशत मानिसहरूले जोनसनले पद त्याग्नुपर्ने बताएका थिए।

जोनसनमाथि आफ्नै पार्टीको विश्वास नरहेको र सहकर्मीहरूले एकपछि अर्को राजीनामा दिइरहेकाले अब उनले आफैंले प्रधानमन्त्री पदबाट राजीनामा दिन सक्छन् । तर, जोनसनले आफूलाई जनताले रोजेको बताएका छन् ।

विपक्षी लेबर पार्टीले प्रधानमन्त्री जोनसनको राजीनामा मागे पनि खुलेर अगाडि आएको छैन । लेबर पार्टीले प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत प्रमाणित गर्न बाध्य पार्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *