प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्ज अस्पतालमा स्तरोनन्ति

डिसी नेपाल
२६ असार २०७९ १३:३०
40
Shares

झापा। झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालका रूपमा सञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाको गौरीगञ्ज अस्पतालका रूपमा स्वीकृति पाउने भएको गाउँपालिकाले जनाएको छ। उक्त स्वास्थ्य केन्द्रमा डा विनोद साहसहित तीन चिकित्सक कार्यरत छन्। स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि साउन १ गतेदेखि विधिवत् अस्पतालमा बिस्तार हुने गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले बताए।

भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको गौरीगञ्ज आसपास अस्पताल छैनन्। त्यहाँका बिरामी सोही प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपर्ने बाध्यता छ। स्वास्थ्य सेवा लिन दैनिक १५० भन्दा बढी बिरामी आउने गरेका छन्। स्थानीयवासी प्राथमिक स्वास्थ्य केन्द्रलाई बिस्तार गरी अस्पताल बनाउने भएपछि आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सुविधा पाउनेमा आशावादी छन्।

अस्पतालको सेवामा सहयोग पुर्याउन स्वास्थ्य विभागले हालै रु पाँच लाख बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको छ । विभागले बिरामीका लागि चाहिने अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री पालिका अध्यक्ष राजवंशीलाई हस्तान्तरण गरेको हो। अस्पतालमा गुणस्तरिय सेवा प्रदान गर्न छिट्टै थप डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्स उपलब्ध गराउन लागिएको राजवंशीलले बताए।

गौरीगञ्ज–५ जनताचोक छेउमा निर्माण हुने वडास्तरीय स्वास्थ्य चौकीकोसमेत राजवंशीले शिलान्यास गरे। करिब रु ४० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण हुने वडाअध्यक्ष विजयसिंह गन्गाईंले बताए। वडा कार्यालयले यसअघि भाडाको घरबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो। स्वास्थ्यचौकी भवन निर्माण गर्न वडाध्यक्ष गन्गाईंले करिब रु २० लाख बराबरको दुई कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *