निजामती ऐन जारी गर्न प्रधानमन्त्री देउवालाई पत्र

डिसी नेपाल
२८ असार २०७९ ६:४८

पाँचथर। संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीसम्बद्ध पाँचथरका संगठनले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन्।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले जिल्ला प्रशासन कार्यालय पाँचथरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्। ज्ञापनपत्रमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका सहसचिव सदनकृष्ण पौडेलले पनि ऐक्यद्धता जनाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमबहादुर काफ्ले, नेपाल निजामती कर्मचारी युनियनरका अध्यक्ष कर्णहाङ नेम्बाङ र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का सचिव राजकुमार सेन्चुरीसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो।

उनीहरुले देश संघीय राज्यव्यवस्थामा गइसकेको लामो समयसम्म पनि संघ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्गदर्शक छाता कानून संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी र सार्वजनकि प्रशासन प्रणाली नै अन्योलको अवस्थामा रहेकोले सर्वस्वीकार्य संघीय निजामती सेवा ऐन संसदको चालु अधिवेशनबाटै यथाशीघ्र जारी गर्न माग गरिएको बताए।

ज्ञापनपत्र ग्रहण गर्दै प्रजिअ न्यौपानेले समग्र कर्मचारीको हकहित एवं सार्वजनिक प्रशासनको स्थायित्वका लागि कर्मचारीहरुले उठाएका सवालसहितको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइने बताए।

ज्ञापनपत्रमा पदपूर्ति, सरुवा-बढुवा, संगठन संरचना, कार्यसम्पादन सम्झौता, भौगोलिक क्षेत्र विभाजन, सामाजिक सुरक्षा, सेवा-सुविधा-सुरक्षा, कर्मचारी कल्याण कोष, अनिवार्य अवकाश, अध्ययन-भ्रमण-तालिम, ट्रेड युनियन, निजामती सेवाको सुधार एवम् जनशक्ति विकासलगायत १६ वटा विषयलाई सुझावसहित बुँदागत रुपमा प्रस्तुत गरिएको छ।

कर्मचारीका संगठनहरुले ती विषय ऐनमा समावेश हुनुपर्ने माग गर्दै आएपनि त्यसको हालसम्म सुनुवाई नभएको नेपाल निजामति कर्मचारी संगठन १ नम्बर प्रदेश कमिटी सदस्य प्रदीप अधिकारी बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *