अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

डिसी नेपाल
३१ असार २०७९ ६:३३

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको छ।

२४ असारमा तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुनकोशी नदिबाट रातको समयमा अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको लु ४ त ६९७४ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सुनकोसीको भाडबेँसीबाट बालुवा बोकेर धितुङतर्फ जाँदै गरेको ट्याक्टरलाई प्रहरीले रातको २ बजे नियन्त्रणमा लिएको जनाएको छ।

२५ असारमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेस्थित दुधकोसीबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको प्रदेश २०३०१ त ५०२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस्तै, २९ असारमा नदीबाट अवैध रुपमा बालुवा निकालेर लैजाँदै गरेको अवस्थामा प्रदेश २०१–००१ त १८५० नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ट्याक्टरलाई ‘एकचोटीका लागि’ प्रतिवटा १ हजार ५०० का दरले जरिवाना गरेर छाडिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए।

हलेसी तुवाचुङ नगरपालिकाले नदीको ढुंगा, गिटी र बालुवा संकलन एबं बिक्री वितरणका लागि ठेक्का आव्हान गरेको थियो । तर बढी रकम तोकिएकाले दुई पल्ट ठेक्का आव्हान गर्दा पनि ठेक्का नलागेको नगरपालिकाले जनाएको छ। नदीबाट बालुवा निकाल्ने सहज वातावरण हुँदा भौतिक संरचना निर्माणको काम भने प्रभावित भएको छ ।

‘अवैध तरिकाले बालुवा निकाल्ने ट्याक्टरलाई पहिलोचोटीका लागि जरिवाना गरेर छाडिएको छ । जरिवाना गरिएको कागजात प्रहरीलाई दिएका छौँ,’ उपमेयर राउतले भने, ‘असार सक्ने सम्झौता भएका कैयौं योजनाहरु छन् । त्यस्ता योजना सञ्चालन गर्न कठिनाइ भइरहेको छ।’

रावाबेँसीमा नदीजन्य पदार्थ उत्खननमा रोक

रावाबेँसी गाउँपालिकाले नदी तथा खोलाबाट बालुवा, गिटी उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अनुसार गाउँपालिका भित्रका नदी तथा खानी क्षेत्रबाट १ साउनदेखि भदौ मसान्तसम्मका लागि बालुवा, गिटी, ढुंगा तथा अन्य नदिजन्य पदार्थहरु उत्खनन्मा पूर्ण रुपमा रोक लगाएको हो ।

२७ असारमा सुचना जारी गर्दै गाउँपालिकाले दुई महिनासम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्यमा रोक लगाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *