बाढी-पहिरो : साढे २ हजार परिवार उच्च जोखिममा

डिसी नेपाल
३१ असार २०७९ ६:५०

पाँचथर। जिल्लामा बाढी पहिरोको उच्च जोखिम कायम नै छ। ७ पालिका र फिदिम नगरपालिकाका प्रायः सबै वडामा बाढी र पहिरोको जोखिम यथावत रहेको छ। बिगतमा भएका विनाश र भोगाइबाट पाठ सिकेर सजकता अपनाउनेतर्फ सरोकारावालको ध्यान पुगेको पाइन्न।

प्रशासनको अगुवाईमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने गरेपनि उच्च जोखिम रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भएको छैन। प्रशासन कार्यालयका अनुसार मिक्लाजुङमा करिव १ हजार १ सय, फालेलुङमा ४ सय, फिदिममा ३ सय ५०, फाल्गुनन्दमा २ सय, कुम्भायकमा ६०, याङबरकमा १ सय ५० र हिलिङाङ गाउँपालिकामा ८० परिवार उच्च जोखिममा छन्।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार वर्षा सुरुसँगै विपद् व्यवस्थापनका लागि तीन वटै सुरक्षा निकायबाट सुरक्षाकर्मी तैनाथ राखिएको छ। करिव २ हजार ५ सय परिवार उच्च जोखिममा रहेको भन्दै प्रशासनले हालै सबै पालिकालाई पूर्व सूचना र सजगता अपनाउन प्रत्येक वडामा ‘क्वीक रेस्पोन्स टिम’ गठन गरेर तैनाथ रहन निर्देशन दिएको प्रजिअ न्यौपानेले बताए।

प्रशासनले सबै स्थानीय तहलाई विपद् जोखिम पहिचान गर्दै उच्च जोखिम रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहजिहरणका लागि आग्रह गरेको हो।
फिदिममा रहेको सशस्त्र प्रहरीको हिमशिखर गणका प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठ विपद्मा उद्धार र खोजका लागि करिव २ दर्जनको संख्यामा दक्ष सशस्त्र प्रहरी तैनाथीअवस्थामा राखिएको छ।

बाढी र पहिरोले सडकहरु अवस्द्ध हुन सक्ने भन्दै इलाम सडक कार्यालय, पुस्पलाल लोकमार्ग र तमोर करिडोर सडक कार्यालयलाई डोजर, स्काइभेटरहरु तैनाथीअवस्थामा राख्न भनिएको छ।

गत वर्षको वर्षातले मेची राजमार्गको इलाम–राँके खण्ड सडक अवरुद्ध भएको थियो। त्यहाँ पानी पर्न थालेपछि पहिरो खस्ने समस्या यथावत छ । त्यो क्षेत्रलाई बिशेष निगरानी गर्दै पहिरो हटाउने उपकरण तैनाथीअवस्थामा राख्न सहजिकरण भइहरेको प्रजिअ न्यौपानेले जानकारी दिए।

रेडक्रस शाखा फिदिमका अधिकृत गुरुराज तिम्सिना जिल्लामा वर्षातको समयमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याउने भएकोले दीगो समाधानका लागि उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको विकल्प नभएको बताउँछन्। तर, त्यसतर्फ पालिकाहरुको ध्यान पुगेको पाइन्न।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *