वैदेशिक रोजगारीमा जाने छ लाख नाघे

डिसी नेपाल
३२ असार २०७९ ८:५१

काठमाडौँ। समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ। गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी गत वर्षभन्दा यो वर्ष तीन दशमलव ७४ गुणाले वृद्धि भएको हो।

कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो ।वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष (असार ३० गतेसम्म) छ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा चार लाख ६१ हजार ८०५ ले बढी हो।

मङ्सिरमा सबैभन्दा धेरै

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा बढी मङ्सिर महिनामा रहेको छ। मङ्सिर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। यस्तै पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमशः साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ।

प्रमुख गन्तव्य साउदी र कतार

यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य मुलुक साउदी अरब र कतार बनेका छन्। आव २०७८/७९ मा साउदी अरबका लागि एक लाख ८८ हजार ३९६ जनाले र कतारमा एक लाख ८४ हजार ५०३ जनाले श्रमस्वीकृति लिएका छन्। सो अवधिमा सबैभन्दा कमले श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन्।

आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।

सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको २९ वर्षमा चालू आर्थिक वर्ष सबैभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो ।

पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्नुुमा दुुई कारण रहेको भन्दै वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईको ठम्याइ छ। उनका अनुसार पहिलो कारण देशमा बढ्दो बेरोजगारी हो भने दोस्रो कारण पछिल्ला दुई वर्ष कोरोनाका कारण जान नपाएका व्यक्ति पनि विदेश जान थालेकाले यो सङ्ख्या उच्च रहेको बताए। मुलुकको आन्तरिक रोजगारीका अवसरमा आएको कमी र गन्तव्य मुलुकमा दुई वर्ष श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको र अर्को वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ।

श्रमविज्ञ डा. गणेश गुरुङले नेपालमा कोभिड–१९ विरुद्धको खोपमा पहुँच र श्रम गन्तव्य देशमा स्वास्थ्य मापदण्ड खुकुलो भई वैदेशिक रोजगारीमा जान नपाएका युवा यो वर्ष रोजगारीमा जान सुरु गरेका कारण श्रम स्वीकृतिको सङ्ख्या बढेको बताए।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल अहिलेसम्मकै उच्च सङ्ख्या भएको बताए।

उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे।

श्रम स्वीकृति लिएका केही श्रमिक मात्र कुनै कारणले विदेश नजाने भए पनि धेरै खर्च गरेर श्रम स्वीकृति लिएका अधिकांश भने विदेश जाने गरेका छन् । श्रम स्वीकृति लिने श्रमिकको सङ्ख्या तीन गुणाभन्दा बढीले वृद्धि हुनु नेपाल भित्रिने विप्रेषणका लागि भने सकारात्मक सङ्केत हो।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको हो ।

नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतका रूपमा रहेको वैदेशिक रोजगार विगत तीन वर्ष घटेर पुनः बढ्ने क्रममा रहेको छ । विगत तीन आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको सङ्ख्या क्रमशः घट्दो दरमा रहेको पाइएको थियो। गाेरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *