छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। सुनसरी, बाँके र मकवानपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवन चोकमा प्र.१–०१–००१ च ७६५० नम्बरको पिकअप र को.२ ह ७२९९ नम्बरको अटो आइतबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा नगरपालिका–३ बस्ने ३२ वर्षीय डम्बर कुमार दर्जी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा भे.७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको आइतबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ बिनौना बस्ने ५० वर्षीय बुचु थारु रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रहेका छन्। उनको आइतबार राति घटनास्थलमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment