काेराेना महामारीपछि तंग्रिँदै हलेसीका होटल व्यवसाय

डिसी नेपाल
२ साउन २०७९ १३:१८

खोटाङ। विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारी साम्य भएपछि खोटाङको त्रि-धार्मिकस्थल हलेसीका होटल व्यवसाय तंग्रिन थालेका छन्। कोभिडको महामारीका कारण दुई वर्षसम्म सुस्ताएको हलेसीका होटल व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने क्रममा छन्।

कोभिडको महामारी न्यून भएसँगै हलेसीमा दर्शनार्थी एवं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुरु भएपछि होटल व्यवसाय तंग्रिन थालेका हुन् । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा साना तथा ठूला गरी डेढ सय होटल सञ्चालन छन्।

कोभिडको पहिलो, दोस्राे र तेस्राे लहरको महामारीका कारण पर्यटकको आवागमन ठप्प हुँदा हलेसीका होटल व्यवसाय धराशायी बनेको थियो । कोभिड महामारीका बेला ग्राहक नआउँदा हलेसीका होटल व्यवसायीलाई दैनिक औसतमा १० लाखको घाटा भएको होटल व्यवसायी संघ हलेसीको तथ्यांक छ । हलेसी जिल्लाको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित छ।

कोभिडको समयमा सुनसान बनेको हलेसी मन्दिरमा हाल दर्शनार्थी र पर्यटकको भिडभाड देखिन थालेका छन्। हलेसीमा आवागमन बढेपछि होटलहरूका ताला खुल्न थालेको होटल व्यवसायी संघ हलेसीका सचिव दिलीप गिरीले बताए।

कोभिडको महामारी रोकथाम तथा न्यूनीकरणका लागि ८ चैत २०७७ देखि १६ मंसिर २०७७ सम्म, १५ वैशाख २०७८ देखि २७ भदौ २०७८ सम्म र ७ माघ २०७८ देखि १ फागुन २०७८ सम्म हलेसीको गेटमा ताला हालिएको थियो। पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसी बजारको अन्य व्यापार-व्यवसायमा समेत असर परेको हलेसीका होटल व्यवसायी भोजराज बस्नेत बताउँछन्।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेशीबाहेक चीन, सिंगापुर, जापान, रुस, फ्रान्स, युक्रेन, अमेरिकालगायतबाट पर्यटक आउने गरेका छन् । त्यसमा पनि बढीजसो धार्मिक पर्यटक छन् ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रसिद्ध तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्वार, पापद्वार, बसासा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *