३ वर्षसम्म आउँदैन राष्ट्रिय परिचयपत्र

डिसी नेपाल
६ साउन २०७९ १०:५०

पाँचथर। जिल्लामा २८ हजार जनाले राष्ट्रिय परिचयपत्र पाउन ३७ महिनादेखि पर्खेर बसेका छन्।

१ लाख १० हजार जनाको परिचयपत्र दर्ता भएकोमा ६५ हजार जनाले लिइसकेका छन् भने १७ हजार जनाको कार्ड जिल्ला प्रशासन कार्यालयमा रहेको छ। २८ हजार जनाको कार्ड राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले अझै पठाएको छैन।

२०७५ असार ५ देखि नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो। पाइलट प्रोग्रामको रुपमा जिल्लाबाट परिचयपत्र वितरण गर्न थालेपनि कोरोनाका कारण कार्ड आउन ढिला भएको जिल्लाका प्रजिअ सुरेश न्यौपानेको भनाइ छ।

सुरु चरणमा २÷३ महिनामा दर्ता भएका कार्ड केन्द्रले पठाउने गरेको थियो। हाल देशका ७७ वटै जिल्लाबाट कार्ड वितरण गर्न थालेपछि लामो समयसम्म कार्ड आउन नसकेको राष्ट्रिय परिचयपत्र शाखा, पाँचथरका विवरण दर्ता अपरेटर भेषराज खत्रीले बताए।

सरकारले इ–पासपोर्ट बनाउन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर राख्न थालेपछि विदेशिने सबै युवाले परिचयपत्र बनाउनै पर्छ। जिल्लामा दैनिक ७० जनाको हाराहारीमा परिचयपत्र बनाउन विवरण दर्ता हुने गरेको छ। राहदानी, नागरिकता बनाउन र निर्वाचनमा मतदाता नामावली दर्ता गर्न आउने सबैले परिचयपत्र बनाउन विवरण दर्ता गर्छन्।

प्रजिअ न्यौपानेका अनुसार २०७५ सालभर गाउँगाउँ गएर परिचयपत्र विवरण संकलन र वितरण गरिएकोले जिल्लामा परिचयपत्र बनाउनेको ठूलो भीड छैन। जिल्लामा अब करिव ३० हजार जनाको नयाँ परिचयपत्र बन्नु पर्ने देखिन्छ।

२०७५ अघि बिदेशिएका र नेपाल नफर्किएका युवायुवती, गाउँका दूरदराजमा रहेका वृद्धवृद्धा र जिल्ला बाहिर रहेका व्यक्तिहरुको परिचयपत्र विवरण संकलन हुन नसकेको प्रशासन कार्यालय जनाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *