बाढीले सडक–पुलमा क्षति पुर्‍याएपछि धादिङमा चारवटा वैकल्पिक यातायात रुट कायम

डिसी नेपाल
१६ भदौ २०८३ ९:१५

धादिङ। भोटेकोशीसहित त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेँशीबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुटका रूपमा कायम गरिएको छ।

प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित सडकमा यातायात सञ्चालन गर्न वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरेको हो।

समितिले धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकलाई प्रभावकारी वैकल्पिक मार्गका रूपमा पहिचान गरेको छ। करिब ३६ किलोमिटर लामो उक्त सडकका केही खण्डमा कालोपत्र गरिएको छ भने केही स्थान स्तरोन्नतिको क्रममा छन्। केही स्थानमा तत्काल मर्मत तथा स्तरोन्नति गर्नुपर्ने र कोशीखोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।

यस सडकको अवस्थाबारे सांसद बोधनारायण श्रेष्ठले समेत स्थलगत अनुगमन गरेका छन्।

बैठकले धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार, परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई पनि अस्थायी यातायात रुट कायम गरेको छ।

वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकिएको छ।

धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ। त्यस्तै, परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन कार्यालय नुवाकोटले गर्नेछ।

त्यसैगरी धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय भएको छ।

बाढीका कारण धादिङबेँशीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि नियमित यातायात सञ्चालनमा समस्या आएको थियो। त्यसलाई सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी यातायात रुट कायम गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *