पहिचान हुन नसकेका शव डीएनए नमुना लिएर कानुनी प्रक्रियाबाट व्यवस्थापन गरिँदै

डिसी नेपाल
१६ भदौ २०८३ ९:४९

गण्डकी। रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवलाई कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म १६ शवको पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिएका छन्।

पहिचान हुन नसकेका बाँकी शवलाई व्यवस्थापन गर्नुअघि सबै आवश्यक कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिने उनले बताए। उनका अनुसार प्रत्येक शवबाट डीएनए नमुना सङ्कलन गरिनेछ भने अन्य आवश्यक परीक्षण तथा अभिलेखसमेत सुरक्षित राखिनेछ।

“शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गर्छौं,” प्रजिअ गुरुङले भने, “डीएनए नमुना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम हुन्छ।”

उनका अनुसार भविष्यमा डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा पुनः कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई शव बुझाउन सकिने गरी व्यवस्थापन गरिनेछ।

पहिचान हुन नसकेका शवलाई ‘पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार व्यवस्थापन गरिने प्रशासनले जनाएको छ। शव व्यवस्थापनका लागि सम्भावित स्थानको खोजी, आवश्यक व्यवस्थापकीय तयारी तथा प्राविधिक प्रक्रिया अघि बढाइसकिएको छ।

अस्पतालमा राखिएका सबै शवको परीक्षणसमेत भइसकेको जनाइएको छ। शव पहिचानका लागि तस्बिरलाई स्क्रिनमा प्रदर्शन गरी आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। आफन्तहरूले तस्बिर हेरेर आफ्ना परिवारका सदस्यको पहिचान गर्ने प्रयास गरिरहेका छन्।

शव खोजीका लागि पोखरा आएका आफन्तलाई खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ। शव पहिचानसम्बन्धी जानकारी तथा सहजीकरणका लागि अस्पताल परिसरमा सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।

बाढीले शवलाई विभिन्न जिल्लासम्म बगाएर पुर्‍याएका कारण पहिचान प्रक्रिया थप जटिल बनेको प्रशासनले जनाएको छ। कतिपय शव बाढीमा परेर क्षतविक्षत अवस्थामा भेटिएकाले प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भएको बताइएको छ।

पोखरा ल्याइएका १०२ शवमध्ये नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव रहेका छन्। ती शवको पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको हो।

हाल शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्। प्रशासनले शव पहिचानका लागि आफन्त तथा सम्भावित परिवारजनसँग आवश्यक विवरण र नमुना सङ्कलनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *