हेटौंडा-काठमाडौं आउजाउका लागि नयाँ रुट निर्धारण: कुन सवारी कुन बाटो चल्ने?
काठमाडौं। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढी र अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले काठमाडौँ-हेटौँडा खण्डमा चल्ने सवारीसाधनका लागि नयाँ रुट निर्धारण गरेको छ।
वर्षा र बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरस्थित त्रिशूली नदीले सडक कटान गर्दा बाटो पूर्ण रूपमा भासिएको छ, जसका कारण मानिसहरूसमेत आवतजावत गर्न नसक्ने गरी सडक ठप्प भएको छ। यस्तै, गजुरी गाउँपालिका- स्थित परेवाभिरमा पनि बाढीले सडकको तल्लो भाग भासिँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले आजैदेखि लागू हुने गरी हेटौँडा-काठमाडौँ जोड्ने वैकल्पिक मार्गहरू तोकेको छ। नयाँ नियमानुसार १० चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन काठमाडौँ प्रवेश गर्दा त्रिभुवन राजपथ हुँदै जानेछन् भने काठमाडौँबाट मकवानपुर फर्किँदा कान्ति राजमार्गको प्रयोग गर्नुपर्नेछ।
मौसम र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै कान्ति राजमार्ग भई हेटौँडातर्फ जाने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
यसैगरी १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ-फाखेल–कुलेखानी हुँदै भीमफेदीको रुट प्रयोग गर्नुपर्नेछ भने हेटौँडाबाट काठमाडौँ जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रुट तय गरिएको छ।
मकवानपुरको त्रिखण्डीनजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीसाधनलाई भने पुलको साटो छेउमै बनाइएको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको छ।
विपद्को समय भएकाले अत्यावश्यक काममा मात्र यात्रा गर्न, सवारी चलाउँदा धैर्य र अनुशासन कायम राख्न, ओभरटेक नगर्न तथा सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रहरी प्रधान कार्यालयले सर्वसाधारण र चालकहरूमा अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment