तीन वर्षमा ४१ जनाको ज्यान गयो, मानवीय त्रुटी मुख्य कारणः ट्राफिक प्रहरी

डिसी नेपाल
८ साउन २०७९ ६:३६

पाँचथर। सुदूर पूर्वको पाँचथर जिल्लामा तीन वर्षको समयमा ४१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। र, ती सबै दुर्घटनामा मानवीय त्रुटी ८५ प्रतिशत हाराहारीमा रहेको पाँचथरका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (प्रनानि) दिपक दुलालको भनाइ छ।

सामान्यतय सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै हो। मादक पदार्थ सेवन (मापसे), मानसिक तनाब र युवा जोसका कारण लापरवाही नै सवारी दुर्घटनाका लागि प्रमुख कारण मानिन्छन्।

पूर्वका इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभासमेतका पहाडी जिल्लाहरु कालोपत्रेले जोडिएका छन्। ‘कालोपत्रे सडकमा तीब्र गति नै दुर्घटनाको मुख्य कारण हो भने यात्रुवहाक गाडीहरु यात्री संकलनको नाममा निषेधित स्थानमा‘ओभरटेक’ गर्दा पनि सडक दुर्घटना भएको पाइन्छ।’ प्रनानि दुलालले भने।

पूर्वका जिल्लाहरुमा प्राय १० वटासम्म पालिका रहेका छन्। ती पालिकाहरुमा कच्ची सडक नै सञ्चालनमा छन्। ती सडकहरुमा वर्षा याममा खाल्डा, पानी जम्ने, पहिरो जाने र अन्य सडक दूरावस्थाका कारण दुर्घटनाहरु भइरहेको पाइन्छ।

नेपालका राजमार्गमा मेची राजमार्ग उत्कृष्ठ हो। भू-बनोटले राम्रो मानिने यो राजमार्ग झापाको चारआलीबाट सुरु भएर ताप्लेजुङसम्म पुग्छ। यो सडकको इलाम खण्डका फिक्कल, कन्याम र राँके क्षेत्रमा सदावहार हुस्सु लाग्छ। चालकले ‘भिजिबिलिटी’ को कमीका कारण पनि दुर्घटनाहरु भएको प्रनानी दुलालले डिसी नेपालसँग बताए।

तीन वर्षको अवधिमा ट्राफिक प्रहरीले दैनिक रुपमा चालक र सहचालकलाई प्रशिक्षण, पर्चा र पम्प्लेट वितरण, विद्यालय सम्पर्क शिक्षा सञ्चालन गरिरहेको छ। जसकै कारण गत वर्ष १६ जनाको मृत्यु भएको थियो भने यो वर्ष १३ जनाको मात्र मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पाँचथर जनाउँछ।

जिल्लामा झण्डै ५ हजार गाडी दैनिक गुड्छन्। राजधानी जाने माइक्रोदेखि बस, मालबहाक ट्रकदेखि पावरटिलरसम्म ताप्लेजुङ, पाँचथर, इलामहुँदै तराई क्षेत्र झर्ने भएकोले गाडीको चाम बढी देखिन्छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ३ हजार २ सय बढी सवारी साधनलाई कारवाही गरेर करिव २० लाख रुपैयाँ राजश्व संकलन गरेको प्रनानि दुलालले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *