अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन

डिसी नेपाल
८ साउन २०७९ २१:३८

कास्की । सङ्घीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान पोखरा शाखाको आज अनुगमनपछि कर्मचारीहरुसँगको छलफल कार्यक्रममा उनले अनुशासित, मर्यादित र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री चौधरीले पर्यटकीय सहर पोखरामा आपूर्ति हुने पानी शुद्ध हुनुपर्ने बताए । उनले भने, “जापान अन्तर्राष्ट्रिय सहयोग निकोग (जाइका)ले निर्माण गरिरहेको पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले ८५ प्रतिशत सकिएको छ । यस आयोजना सम्पन्न भएपछि पर्यटकीय सहर पोखराको पानी शुद्ध, स्वच्छ र सफा हुनुपर्दछ ।”

मन्त्री चौधरीले उपभोक्ता समितिहरुले महङ्गो शुल्क लिएर धारा जडानका लागि सिफारिस गर्ने गरेको पाइएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । खानेपानी नैसर्गिक अधिकार भएकाले सरकारले सबै घरधुरीलाई ‘एक घर एक धारा’को अवधारणाअनुसार काम अघि बढाएको बताए । छिट्टै खानेपानी तथा सरसफाइ ऐन पारित हुने तयारीमा रहेको जानकारी दिँदै उनले संस्थानको कर्मचारी सेवा सर्त विनियमावली छिट्टै उपलब्ध गराउन मन्त्रालय लागिपरेको उल्लेख गरे ।

संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले सबै कर्मचारी मिलेर संस्थान बचाउन सक्नुपर्ने बताउँदै पोखरा शाखा संस्थानकै नमूना शाखा बन्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीले संस्थानको आर्थिक, पानी वितरण प्रणाली, नयाँ योजना, मुहान र उपभोक्तासहितको विवरणबारे जानकारी गराए । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीमाथि विभेद अन्त्य हुनुपर्ने धारणा राख्दै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई करार सेवामा लैजान व्यवस्थापन समग्र आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *