‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल मुख्य निर्णायक

डिसी नेपाल
२४ साउन २०८३ १७:२८

काठमाडौं। नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए। टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा आधारित रियालिटी शोमा सहभागी हुन लागेको यो पहिलो अनुभव भएको उनले बताए।

हमालले कमेडी विधा कलाकारिताको सबैभन्दा चुनौतीपूर्ण विधामध्ये एक भएको उल्लेख गरे। दर्शकलाई हँसाउनु निकै कठिन काम भएको भन्दै उनले कमेडी कलाकारप्रति आफ्नो उच्च सम्मान रहेको बताए।

उनले भने, ‘व्यक्तिलाई भावनामा ल्याएर रुवाउनु वा प्रेमका कुरा गर्नु तुलनात्मक रूपमा सहज हुन सक्छ। तर कमेडी गरेर व्यक्तिलाई हँसाउनु अत्यन्त चुनौतीपूर्ण काम हो। त्यसका लागि विशेष किसिमको हास्यचेत आवश्यक हुन्छ।’

‘सुपर कमेडी लिग’मा आफू मुख्य निर्णायकको भूमिकामा रहे पनि प्रतियोगीलाई अंक दिने जिम्मेवारी भने आफ्नो नरहेको हमालले स्पष्ट पारे। प्रतियोगीहरूको प्रस्तुति हेरेर आवश्यकताअनुसार सकारात्मक तथा आलोचनात्मक सुझाव दिने उनको भूमिका रहनेछ।

शोमा देशभरका विभिन्न सहरबाट कमेडी कलाकार छनोट गरी उनीहरूलाई आफ्नो प्रतिभा तथा प्रस्तुति देखाउने अवसर प्रदान गरिने जनाइएको छ। नयाँ पुस्ताका कलाकारसँगै लामो समयदेखि कमेडी क्षेत्रमा सक्रिय कलाकारहरूको प्रस्तुतिसमेत हेर्न आफू उत्साहित रहेको हमालले बताए।

हमालका अनुसार ‘सुपर कमेडी लिग’को अवधारणामाथि करिब एक वर्षदेखि तयारी भइरहेको थियो। कार्यक्रम निर्देशक आलन श्रेष्ठसँग लामो समयदेखि छलफल तथा गृहकार्य गरेपछि शोको औपचारिक घोषणा गरिएको उनले जानकारी दिए।

‘यो अचानक आएको कार्यक्रम होइन। करिब एक वर्षदेखि यसबारे छलफल र तयारी भइरहेको थियो। अहिले हामी कार्यक्रमका लागि तयार अवस्थामा छौँ,’हमालले भने।

कमेडी कलाकारहरूको निरन्तरता र दर्शकमाझ लोकप्रियता आफैँमा ठूलो उपलब्धि भएको बताउँदै हमालले लामो समयदेखि कमेडी क्षेत्रमा सक्रिय कलाकारहरूको प्रशंसा गरे। नयाँ पुस्ताका प्रतियोगीहरूले प्रस्तुत गर्ने हास्यशैली र उनीहरूको ‘सेन्स अफ ह्युमर’ हेर्न आफू विशेष उत्सुक रहेको पनि उनले बताए।

कार्यक्रममा हमालले जीवनमा हाँसोको महत्त्वसमेत उल्लेख गरे। हाँसो मानिसको जीवनका लागि आवश्यक रहेको भन्दै उनले ‘सुपर कमेडी लिग’ले नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे।

उक्त सो कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नेछन्। कार्यक्रमका लागि देशका पाँच प्रमुख शहरमा अडिसन आयोजना गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *