विपद्उद्धारका लागि फिदिम नगरपालिकाले जेटबोट किन्ने

डिसी नेपाल
९ साउन २०७९ ७:२९

पाँचथर। बाढी पहिरोका कारण खोलामा परेका व्यक्तिको उद्धारका लागि फिदिम नगरपालिकाले जेटबोट खरिदको तयारी गरेको छ। गत वर्ष तमोर र काबेली नदीमा परेर ६ जनाको मृत्यु भएको थियो। जेटबोट भएको भए उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सुरक्षा निकायले बताउँदै आएको छ।

फिदिम जोरसालमा रहेको सशस्त्र प्रहरीको हिमशिखर गणका प्रहरी नायवउपरीक्षक (डिएसपी) किशोरकुमार श्रेष्ठका अनुसार २ वर्षदेखि जेटबोट आवश्यक रहेको भन्दै माग भइरहेको छ। तर, सुनुुवाई भएको छैन। उनले भने, ‘जेटबोट हुँदा ठूला नदीमा परेका व्यक्तिको तत्काल उद्धार गर्न सकिन्छ।’

ताप्लेजुङ, तेह्रथुम, पाँचथर र धनकुटासीमा भएर बग्ने तमोर र काबेली नदीमा जेटबोट चलाउन सकिन्छ। नदीका बीचमा ठूला छाल र ढुंगाहरु नभएकोले यी नदी बोट चलाउन उचित मानिन्छन्।

फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले जेटबोट खरिदको प्रकृया सुरु भएको बताए। उनले भने, ‘निर्णय भइसकेको छैन, तर हामी खरिद गर्ने तयारीमा छौं।’
नगरपालिकाका अनुसार बोट खरिद गरेपछि सशस्त्र प्रहरीको जिम्मामा दिइनेछ। सशस्त्रमा बोट चलाउने र बिपद्मा उद्धार गर्ने दक्ष जनशक्ति पर्याप्त रहेको सशस्त्र डिएसपी श्रेष्ठले जानकारी दिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले केहीअघि तमोर नदीमा विपद्मा उद्धार गर्ने अभ्यास नै गरिसकेको छ। पुलबाट डोरीको माध्यमदेखि खोलामा झर्ने, बोट वा डुंगाबाट बगिरहेका व्यक्तिको उद्धार गर्नेसमेतका अभ्यास गरिएको थियो।

जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र तमोर र काबेली नदी आसपासका व्यक्ति पहिरो र बाढीले नदीमा परेमा उद्धारको एकमात्र विकल्प बोट नै भएको बताउँछन्। उनले पाँचथरका ८ वटै पालिकालाई जेटबोट खरिद गर्न आग्रह गरिसकेको जानकारी दिए।

कुम्भायक पालिका प्रमुख बमप्रसाद लावती पालिकामा विपद् व्यवस्थापनमा ८० लाख रुपैयाँ रहेको र त्यसबाट बोट खरिदका लागि केही रकम सहयोग गर्न सकिने बताउँछन्। तर, फिदिम नरपालिकाले मात्र खरिद गरे पनि यी नदीमा बाढी र पहिरोले कोही बगेको खण्डमा उद्धार गर्न कुनै समस्या नहुने सशस्त्र प्रहरीको भनाइ छ।

नगरपालिकाले बोट खरिद गरेपछि सशस्त्रकै जिम्मा दिने तयारी गरेको छ। साउन मध्य हुन लागेको र वर्षा जारी रहेकोले बोट खरिदमा ढिलाई नगर्न सशस्त्र प्रहरी नगरपालिकासित आग्रह गर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *