बंगलादेश पनि टाट पल्टिने दिशामा, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण माग्यो

डिसी नेपाल
११ साउन २०७९ १६:२३
308
Shares

काठमाडौं । छिमेकी राष्ट्र बंगलादेशको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । यस्तो अवस्थामा बंगलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४.५ अर्ब डलर ऋण मागेको छ । यस सम्बन्धमा बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले आईएमएफलाई औपचारिक रूपमा पत्र लेखेका छन् ।

बंगलादेशको अखबार डेली स्टारको रिपोर्टका अनुसार आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालाई लेखिएको यस पत्रमा देशको आर्थिक दुर्दशाको बीचमा विदेशी मुद्रा सञ्चितिलाई स्थिर राख्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ऋणको आवश्यकता रहेको उल्लेख गरिएको छ ।

बंगलादेश बैंकको तथ्यांकअनुसार गत वर्ष जुलाईदेखि यस वर्षको मेसम्म बंगलादेशको आयात ८१.५ अर्ब अमेरिकी डलर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो । बंगलादेशको चालू खाता घाटा आर्थिक वर्ष २०२१-२०२२ को पहिलो ११ महिनामा छ गुणाभन्दा बढि १७.२ बिलियन डलर पुगेको छ।

बंगलादेशको विदेशी मुद्रा सञ्चितिमा पनि भारी गिरावट आएको छ । बंगलादेशको विदेशी मुद्रा सञ्चिति जुलाई २० सम्ममा ३९.७ बिलियन डलर रहेको छ । बंगलादेशमा महंगी जुनमा नौ महिनाकै उच्चमा रह्यो। यस अवधिमा महंगी दर ७.५६ प्रतिशत रहेको छ ।

आईएमएफबाट प्राप्त हुने ४ अर्ब ५० करोड डलरमध्ये १ अर्ब ५० करोड डलरमा ब्याज नलाग्ने र बाँकी रकममा दुई प्रतिशतभन्दा कम ब्याज लाग्ने सम्भावना रहेको अर्थ मन्त्रालयसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

आईएमएफसँग यस प्रकारको सहयोगको अनुरोधको अर्थ हो बंगलादेश ती देशको सूचीमा समावेश भएको छ जसले देशको अर्थतन्त्र बचाउन आईएमएफसँग ऋण माग्ने अवस्थामा पुगेका छन् ।

यस महिनाको सुरुमा, आईएमएफले पाकिस्तानलाई चार अर्ब डलरको प्याकेज दिन सहमत भएको थियो। यो प्याकेज आगामी वर्ष पाकिस्तानलाई दिइनेछ । यससँगै तान्जानियालाई १.०५ अर्ब डलर र घानालाई १.५ अर्ब डलरको आर्थिक प्याकेज दिने सहमति भएको छ ।

रिपोर्टका अनुसार बंगलादेशले यस सम्बन्धमा सेप्टेम्बरमा आईएमएफसँग बैठक गर्न सक्छ, जसमा ऋणका सर्तहरूलाई अन्तिम रूप दिइनेछ। अधिकारीहरू भन्छन् कि यस वर्ष डिसेम्बरसम्म, दुई पक्षहरू बीचको यो सम्झौता लक गरी जनवरीमा आईएमएफ बोर्ड बैठकमा पेश गरिनेछ।

आइएमएफबाट ऋण लिँदा सामान्यतः सर्तहरू निकै कडा हुन्छन्, यदि पालना नगरे गम्भीर परिणाम भोग्नु पर्ने हुन्छ ।

अन्य दुई छिमेकी राष्ट्र पाकिस्तान र श्रीलंकाको आर्थिक दुर्दशा कसैबाट लुकेको छैन । श्रीलंकाको अवस्था यति बिग्रियो कि मानिसहरु सडकमा उत्रनु परेको थियो । राष्ट्रपतिले देश छाडेर अर्को देशमा शरण लिनुपर्‍यो ।

यसैबीच, पाकिस्तानको सरकारी खजाना लगभग खाली छ, महंगी दरले आकाश छोएको छ र पाकिस्तानी रुपैयाँ सबैभन्दा तल्लो तहमा झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *