छोराले दिए बुबालाई कलेजो

डिसी नेपाल
११ साउन २०७९ २२:०७
500
Shares

बागलुङ । कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गरेका छन् । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो ।

गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिए । “प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो स्वास्थ्य अवस्था सामान्य नै छ”, उनले भने, “बुबा अझै केही दिन चिकित्सकीय निगरानीमा सघन कक्षमा रहनुहुन्छ ।”

गत माघमा स्वास्थ्यमा एक्कासी समस्या देखिएर पोखराको गण्डकी मेडिकल कलेजमा परीक्षण गराउँदा बुबाको कलेजोमा खराबी देखिएको राजभण्डारीले बताए । “थप उपचारलाई काठमाडौँको ग्राण्डी अस्पताल पनि लगियो, चिकित्सकले अरु उपचारले नहुने र कलेजो प्रत्यारोपण नै एकमात्र विकल्प रहेको बताएपछि बुबालाई कलेजो दिने निर्णयमा म पुगेँ ।”

नेपाली चिकित्सककै राय, परामर्शमा कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली आएको उनको भनाइ छ । ४३ वर्षीय राजभण्डारीले आफू र बुबाको स्वास्थ्य लाभको कामना गर्ने र सदासयता राख्नेप्रति आभारी रहेको जनाए । कलेजो दान दिएर बुबाको जीवन बचाएकामा धेरैले उनको प्रशंसा गरिरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *