विपद् व्यवस्थापनमा पालिकाहरु भाग्दै

डिसी नेपाल
१२ साउन २०७९ ७:१७

पाँचथर। मध्य वर्षाको समय र अधिक पानी परिहरेकोले बाढी र पहिराबाट बच्न सजगता अपनाउने कृयाकलाप तीब्रगतिमा भइरहेका छन्। तर, अधिकांश पालिकाहरु भने विपददेखि भाग्न थालेका छन्। जसको पछिल्लो उदाहरण हाे, विपद् व्यवस्थापन समिति बैठकमा ६ वटा पालिकाले बहिस्कार नै गरे।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको बैठकमा बाढी र पहिरोबाट बच्न सावधानी अपनाउनेदेखि विपद् प्रतिकार्य योजना बनाउनेसम्मको कार्ययोजना थियो।

तर, हिलिहाङ, तुम्बेवा, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ र कुम्भायक पालिकाले बैठक नै बहिस्कार गरे। फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र याङवरक पालिका प्रमुख भीमबहादुर योङया भने उपस्थित भएको प्रजिअ सुरेश न्यौपानेले बताए।

बैठकले विपद् प्रतिकार्य योजना तत्काल बनाएर कार्यान्वयनमा लाने र पालिकाहरुको लगानीमा जेटबोट खरिद गर्ने निर्णय गरेको छ। फालेलुङ-७ को बिदिनमा ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाएर रुपलाल, गोमा र भतिजी एलिसा मगरको मृत्यु भएको थियो। उनीहरुको परिवारलाई प्रति व्यक्ति २ लाख रुपैयाँ दरमा राहत उपलब्ध गराउने निर्णय भएको छ।

बैठकले नेपाल रेडक्रस शोसाइटीले फालेलुङ गाउँपालिकामा ४ वर्ष सञ्चालन हुने ‘जलबायु मैत्री विपद् व्यवस्थापन तथा विपद् जोखिम न्युनिकरण कार्यक्रम’ लाई सञ्चालन गर्न स्वीकृत दिएको छ ।

यो कार्यक्रममा जलवायु परिवर्तनले परेको विपद् सम्वन्धी असर न्युनिकरण, प्राथमिक उपचार, विद्यालय सरसफाइ, खोज उद्धारसमेतका कृयाकलाप सञ्चालन हुने रेडक्रसका अधिकृत गुरुराज तिम्सिनाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *