प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

डिसी नेपाल
१५ साउन २०७९ १६:५३

खोटाङ । जिल्लाका सबैभन्दा ज्येष्ठ तथा वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार आचार्यलाई शहीद मनोज जोशीको ३१औँ स्मृति दिवसको अवसरमा आज नगद रु दश हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

वरिष्ठ पत्रकार आचार्यले पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पुर्‍याउनुभएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको शहीद मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए । पत्रकार आचार्यको अनुपस्थितिमा उहाँका जेठा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरिएको छ ।

विसं २०३२ देखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका पत्रकार आचार्य हाल जिल्लाबाट प्रकाशन हुँदै आएको खोटाङ खबर साप्ताहिकका प्रधान सम्पादक हुन् । विगत ४७ वर्षदेखि सक्रियरूपमा पत्रकारिता गरिरहेका पत्रकार आचार्यलाई विसं २०७४ सालमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा विसं २०१२ साउन–२ गते जन्मीएका पत्रकार आचार्यलाई विभिन्न सङ्घ संस्था तथा कार्यालयले सम्मान एवं पुरस्कृत गर्दै आएका छन् । नेपाल प्रेस युनियन खोटाङका सल्लाहकारसमेत रहेका वरिष्ठ पत्रकार आचार्य स्वच्छ छविकारुपमा चिनिन्छन् ।

शहीद मनोजमार्ग सरसफाइ, रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरणलगायतका कार्यक्रम गर्दै जिल्लामा शहीद मनोज जोशी–झपेन्द्र कार्की स्मृति दिवस मनाइएको छ । विसं २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो । विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा जोशीलाई लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी बताउँछन् ।

उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर घाँस खुवाउनेलगायतका दुव्र्यव्यवहारसमेत गरेका थिए । सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारी जागिरबाट हटाइएका थिए ।

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी जोशीको हत्या भएको सोही घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ का रूपमा चिन्ने गरिन्छ । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा शहीद ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रूपमा मनाइँदै आइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बुबा नारायणप्रसाद र आमा अम्बिका जोशीको कान्छो छोरा शहीद मनोजको विसं २०३० असोज–२३ गते जन्म भएको थियो । वास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित शहीद मनोज जोशी इन्द्रेणी सांस्कृतिक समाज तथा युवा सङ्गठनमा आबद्ध थिए ।

शहीद जोशीको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइए पनि जोशीको समाधिस्थल तथा सालिक राखिएको क्षेत्रमा निर्माण सामग्री राखेर शहीदप्रति नै अपमान गरेको पाइएको छ । शहीद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल बनाएको विषयमा प्रतिष्ठानको समेत चासो गएको छैन ।

स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको सालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्कीलगायतका निर्माण सामग्री भण्डारण गर्ने गरेका छन् । शहीद जोशीको समाधि तथा सालिक राखिएको ठाउँ हडपेर जथाभावी व्यापारिक प्रयोजनका सामग्री राखिएको विषयलाई लिएर परिवारले भने दुःख व्यक्त गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *