भारतसँग ८ गोल खानुभन्दा ठूलो चिन्ताजनक दिन अब आउँदैछन्ः विक्रम लामा – Dcnepal

भारतसँग ८ गोल खानुभन्दा ठूलो चिन्ताजनक दिन अब आउँदैछन्ः विक्रम लामा

काठमाडौं। कुनै एक समय थियो, हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं । भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै जान्थ्यौँ । राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो । तर, समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थे ।

उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं । उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराइन जस्ता एसियाका पावर हाउसका रुपमा रहेका राष्ट्रलाई पनि जित्ने गर्दथ्यौं भने दक्षिण कोरिया, जापान जस्ता राष्ट्रसँग कडा टक्कर दिएका धेरै नतिजा छन् । यसको एउटा प्रमुख कारण थियो त्यो बेला हुने युथ लेभलको अत्याधिक फुटबल गतिविधि ।

यु १४, यु १६ का धेरैभन्दा धरै फुटबल गतिविधि हुने गर्थ्यो । यस्तै, एन्फा एकेडेमीमा पनि खेलाडीलाई राखेर प्राविधिक रुपमा तिखार्ने काम निरन्तर हुने गर्दथ्यो । जसको प्रत्यक्ष फाइदा युथ स्तरको प्रतियोगितामा हाम्रो राष्ट्रलाई हुने गर्दथ्यो । एएफसी यु १७, यु १९ जस्ता प्रतियोगितामा हामीले अब्बल टिमलाई जितेर दोस्रो चरणमा पुगेका छौँ भने दक्षिण एसियामा प्रायस् प्रतियोगिता जित्ने गर्थ्यौं । तर, बिस्तारै समयसँगै ती खेलाडी सिनियर राष्ट्रिय टिममा पुग्दा हाम्रो स्तर खस्कदो र अरु राष्ट्रको उस्कदै जाने गर्यो ।

आजसम्मको मेरो अनुभवअनुसार यसको प्रमुख कारण कमजोर घरेलु फुटबल संरचना नै हो । जहाँ हामी मुस्किलले वर्षमा ६ महिना फुटबल खेल्छौं । राष्ट्रिय खेलाडीले थप एक दुई महिना राम्रो वातावरण पाउलान् । खेलाडीका लागि यो पर्याप्त पक्कै होइन ।

अव्यवस्थित र कमजोर संरचनामा फुटबल खेलेर खेलाडी बन्ने सपना पूरा गर्दैगर्दा कति थाकेर अन्य बाटो लाग्छन् । कति आफ्नो दोस्रो सपना पूरा गर्न र पारिवारिक जिम्मेवारी बोकेर फुटबलबाट टाढिने गर्छन् । बाँकी रहेका खेलाडीले पनि पर्याप्त मात्रामा खेल्न घरेलु फुटबलको वातावरण नपाउँदा कहाँ गएर आफूलाई निखार्ने वा नयाँ खेलाडीले आफूलाई कहाँ अनुभवी बनाउने त ?

साफ यु-२० मा भारतसँग ८–० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन । किनकी चिन्ता त अब गर्नुपर्ने दिन आउँदैछ भन्ने मेरो बुझाइ हो । यदि घरेलु फुटबल संरचना र युथ फुटबल गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टिममा पर्ने पक्का छ ।

भोलिका दिनमा समय समयमा उत्कृष्ट खेलाडी जन्मिने वा पाउने छौं नै। तर, ती खेलाडीलाई अनुभवी बनाउने कसरी ? यसरी नै बारम्बारको गोलअन्तरकाका खेलहरूबाट रु के बलियो संरचनासहितको घरेलु फुटबल तथा उमेर समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट अनुभवी बनाउन सकिदैन र ? तसर्थ, उमेर समूहका खेलाडीलाई खेल्ने वातावरण र खेलाडी उत्पादनमा गम्भीर हुने समय सायद आजको प्रमुख विषय हो ।

हालको राष्ट्रिय टिम परिवर्तनको संघारमा छ । त्यस परिवर्तित स्थानमा अब आउने खेलाडी युवा मात्र नभई अनुभवसहितको युवा खेलाडीको खाँचो छ। किनकी कुनै पनि देशको राष्ट्रिय टिम भनेको प्रयोगशाला पक्कै पनि होइन । जहाँ मनलाग्दी प्रयोग गरेर परीक्षण गरिन्छ ।

राष्ट्रिय टिम एउटा नतिजाको लागि खेलिने अन्तिम विन्दु हो । त्यहाँ नतिजाबाहेक अन्य विकल्प हुँदैन । राष्ट्रिय टिमको नतिजाले नै राष्ट्रको फुटबल कुन धारमा जादैछ भन्ने संकेत गर्छ । तसर्थ, पर्याप्त मात्रामा खेलेर अनुभव लिइ आफूलाई अब्बल रुपमा अनुभवी बनाएर राष्ट्रिय टिममा जाने वातावरण मिलाउन सक्नुपर्छ । चाहे त्यो अनुभव बलियो घरेलु फुटबलको होस् वा राष्ट्रिय अन्तराष्ट्रिय उमेर समूहमा होस् ।

जिल्लामा खेल वातावरण हुँदा त्यसको अनुभव भोलि केन्द्र हुँदै राष्ट्रियस्तरमा महत्व रहन्छ भने प्रत्येक उमेर समूहको खेल वातावरण हुँदा भोलि सिनियर टिमसम्ममा पुग्दा त्यसको प्रत्यक्ष फाइदा रहन्छ र नतिजामा टेवा पुग्छ ।

अहिले खेल्दै गरेका यु-२० का खेलाडीहरू व्यक्तिगत क्षमतामा निकै अब्बल देखिन्छन् तर निकै कम खेलाडी मात्रै अनुभव देखिन्छन् । सायद धेरै खेलाडीले त्यो स्तरको दबाबपूर्ण खेलको अनुभव नभोगेकाले होला । उनीहरूलाई त्यहीअनुसार यु-१२, यु-१५, यु-१७ हुँदै अनुभव लिने खेल वातावरण बनाइदिनु पर्थ्यो । जसले आज केही हदसम्म सजिलो हुने थियो वा नतिजा फरक पर्न सक्थ्यो । साथै, घरेलु फुटबल बलियो भइदिएको भए त्यसमा खेलेर थप अनुभवी बनाउन सक्ने अवस्था बन्थ्यो ।

एकाधलाई छाड्ने हेर्ने हो भने सन् २०१६ देखि २०२२ सम्म हाम्रो राष्ट्रिय टिमले जितेको चार वटा उपाधि बंगबन्धु गोल्डकप, साग गेम २०१६, एएफसी सोलिडारिटी कप, साग गेम २०१९ सम्पूर्णमा रहेका अधिकांश खेलाडी युथ लेभलबाट राम्रो अनुभव लिएर आएका थिए ।

सन् २००३ र २००४ देखि सन् २०११ र २०१२ सम्म उत्पादित खेलाडीले हालसम्म राष्ट्रिय टिम सम्हालेका छन् । आउँदै गरेका नयाँ खेलाडी पनि राम्रा छन् तर पर्याप्त मात्रामा अनुभवको कमी छ ।

नयाँ खलाडीले घरेलु फुटबलका साथै युथ खेल गतिविधिअन्तर्गत निकै कम राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव हासिल गर्न पाएका छन् । यस्ता वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । घरेलु फुटबल कमजोर हुँदा अनुभवी खेलाडीले पनि आफूलाई पर्याप्त मात्रामा निखार्ने र अझ अब्बल बनाउन सक्दैनन् । जसको असर राष्ट्रिय टिमलाई पर्छ ।

यी हुन् समाधानका उपाय

राष्ट्रिय टिममा हालका खेलाडीको विकल्प के त रु सायद यो एक उत्तरहीन जवाफ हुनसक्छ । तसर्थ, अहिलेको यो यु- २० र बन्दै गरेको यु-१७ का खेलाडीलाई बचाउनुको विकल्प नहोला ।

समयसँगै परिमार्जन गर्दै यस यु-२० र यु- १७ का खेलाडीलाई बचाएर राख्न सक्नुपर्दछ । र, घरेलु फुटबलको संरचनालाई बलियो बनाएर खेलाडीलाई निरन्तर खेलमा लागिरहन सक्ने वातावरण बनाउने हो भने यी खेलाडीहरूले २–३ बर्षमा राष्ट्रिय टिममा सहयोग गर्न सक्छन् । जसका कारण नेपाली फुटबलको सफल दिन सायद टाढा नहोला ।

जति धेरै फुटबल गतिविधि सही ढङ्गले हुन्छ त्यसरी नै खेलाडीहरूबीचको प्रतिस्पर्धाले उत्कृष्ट खेलाडी उत्पादन हुन्छ र पर्याप्त मात्रामा अनुभव संगालेर माथिल्लो स्तरमा राष्ट्रिय टिमलाई टेवा दिनसक्छ । फुटबल यस्तो खेल हो जहाँ युवा जोस र शक्ति जति नै उत्कृष्ट भए पनि खेललाई आफू अनुकूल नतिजा ल्याउन अनुभवको खाँचो रहन्छ ।

आज विश्व फुटबलमा जति पनि नतिजा निकालेका टिमहरू छन्, उनीहरूको संरचना हेर्दा प्रस्ट हुन्छ कि टिममा अनुभवी तथा अनुभवसहितका युवा खेलाडीको समिश्रण हुनुपर्छ । विश्वकप विजेता तथा महादेशीय कपका विजेता राष्ट्रहरू र प्रख्यात क्लब लिग विजेता क्लबहरू यसका उदाहरण हुन् ।

त्यसैले कुनै पनि राष्ट्रको फुटबल विकासको आधार भनेको नै घरेलु फुटबल हो । घरेलु फुटबल बलियो हुँदा खेलाडीले फुटबलमा स्थिरता पाउँछन् । जसकारण पूर्ण रुपमा फुटबलमा समर्पित हुने आधार रहन्छ । खेलाडी पलायन तथा विलिन जस्ता अप्रिय कुरा धेरै हदसम्म समाधान हुनसक्छ ।

(यो लेख नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर विक्रम लामाको हो । हाल उनी सहिद स्मारक ए डिभिजन लिग क्लब थ्रीस्टारका कप्तान हुन् । अलिख नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको खेलाडी संघको अध्यक्ष समेत रहेका विक्रमको कप्तानीमा नेपालले घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो ।)

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो