साउदी अरबमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए १७ करोड बढी ‘ब्लडमनी’

डिसी नेपाल
१७ साउन २०७९ १२:११

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन्।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हुन्।

सो अवधिमा मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी कुल ५० लाख ९० हजार ९१८ साउदी रियाल (१७ करोड ८ लाख ३ हजार ६९८ रुपैयाँ) मृतकको परिवारका नाममा पठाइएको दूतावासले जनाएको छ।

गत आर्थिक वर्ष साउदी अरबमा दुर्घटना तथा विविध कारणले २०६ जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको, १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार गरिएको र ८ जनाको शव पठाउन बाँकी रहेको जानकारी दूतावासले दिएको छ।

दूतावासका अनुसार प्राकृतिक कारण (हृदयघात समेत) ११२ जना, आत्महत्या गरेर ३४ जना, सडक दुर्घटनामा परी ३१ जना, कार्यस्थल दुर्घटनामा परी १४ जना र कोरोना संक्रमणका कारण १४ जना नेपालीको गत वर्ष साउदी अरबमा मृत्यु भएको थियो। एक जना नेपालीको भने हत्या भएको थियो।

ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा स्थानीय अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको दूतावासले जनाएको छ। त्यसमध्ये ५३ वटा केस अदालतमा दायर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *