प्याराग्लाइडिङ उडानकै क्रममा पत्रिका विमोचन

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् ।
सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उनले पर्यटकीय सहर पोखरामा साहसिक पर्यटनमा धेरै आकर्षण रहेको र अधिकतम पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताए । पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए ।
मन्त्री शर्माले टुरिजमपाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । महिला प्यारा पाइलट तृशा श्रेष्ठले मन्त्री शर्मालाई प्याराग्लाइडिङ गराएकी थिइन्।
पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उनले विषय विज्ञसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने धारणा राखे ।
पत्रिकाका प्रकाशक विष्णुकान्त घिमिरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यका साथ टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको हो । पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताए ।
Facebook Comment