अमेरिकामा एक नेपालीभाषी व्यवसायीको भावुक भाषण, शिविरमा स्वास्थ्य चौकी बनाउने घोषणा

डिसी नेपाल
३० साउन २०७९ ६:३८

ओहायो। अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस शहरको एउटा विशाल सभाहलमा भेला भएका सयौं मानिसहरुको भीडमा एकजना नेपाली भाषी युवाले आफ्नो पहिचानका बारेमा भावुक भाषण गरे।

उनले नेपाली भाषा, संस्कृति र पहिचानका लागि देशै गुमाउनु परेको कुरा सुनाउँदै उपस्थित सयौं मानिसहरुको हृदय जिते र सबैको हौसला बढाउने उनले भने, ‘नेपाली भाषा, संस्कृतिको उत्थानका लागि अव गुमाउनु पर्ने केही नभएकोले जीवनभर त्यसको उत्थानमा लाग्ने प्रण गरेको छु।’

अमेरिकाको ओहायो राज्यमा केही बर्षदेखि व्यवसाय गर्दै आएका नेपालीभाषी भुटानी युवा डिल्ली अधिकारी ओहायो राज्य र आसपासका राज्यबाट भेला भएका नेपाली र नेपाली भाषी भुटानीहरुको ठूलो जमघटमा बोल्दै थिए।

अघिकारी अध्यक्ष रहेको परोपकारी संस्था इन्ट्रा फाउण्डेसनले आयोजना गरेको नेपाली गीत र नृत्यका दुई रियालिटी शोहरु मेरो भ्वाइसकप र मेरो डान्स कप २०२२ को ग्राण्ड फिनालेको सांगीतिक महौललाई अधिकारीको भाषणले आफ्नो देश भुटानबाट लखेटिएर शरणार्थीका रुपमा नेपालका शिविरहरुमा बस्नुपर्दाको पीडादायी विगततिर पुर्‍याएर सभाको वातावरणलाई नै भावुक बनाइदिएको थियो।

‘हाम्रा बाबु आमा र हामीले आफ्नो भाषा नेपाली बोल्न पाऊँ, नेपाली चाडबाडहरु निर्धक्क मनाउन पाऊँ भन्दा आफ्नो देशबाटै लखेटिनु परेको हो’, उनी भन्दै गए,‘नेपालीपन, नेपाली भाषा र संस्कृतिप्रति हाम्रो अनुराग र भुटानका शासकले नसहंदा बीसौंबर्ष हामी शरणार्थी बनाइयौं तै पनि हामीले हाम्रो पहिचान छाडेनौं। हामीलाई हाम्रो नेपालीपन, नेपाली भाषा र सोही पहिचानप्रति गर्व छ।’ उनले भने, ‘देश, माटो र पुर्खाको सम्पूर्ण सम्पत्ति छोडेर लखेटिनुपर्दा पनि हामीले हाम्रो पहिचान छोडेनौं, हाम्रा सन्ततिहरुलाई पनि नेपालीपनमा गर्व गर्न सिकाउछौं।’

पुनर्वास योजनाअन्तर्गत अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीभाषी भुटानीहरु र नेपालीहरुलाई संबोधन गर्दै उनले विदेशमा बसेपछि जन्मिएका बालवालिकाहरुलाई पनि आफ्नो भाषा, संस्कृति, भेषभूषा र संस्कार सिकाएर गर्व गर्ने वातावरण बनाउन ढिला गर्नु नहुने आग्रह पनि गरेका थिए।

हाम्रा नानीहरुले हाम्रो पोशाक, भाषा र संस्कृति नभुलुन भनेर नै आफूले नेपाली गीत संगीत तथा नृत्यका दुई रियालिटी शो हरु संचालन गरेको र यी दुबै शो हरुलाई अव संसारभरका नेपालीभाषीहरुले सहभागिता जनाउन पाउने गरी शुरुवात गर्न लागेको पनि उनले बताएका थिए। यसका लागि मेरो भ्वाइसकप युनिभर्स र मेरो डान्स कप युनिभर्स संचालन गर्ने र त्यसका लागि इन्ट्रा फाउण्डेशनले नाम दर्ताको काम शुरु गरेको घोषणा पनि उनले गरे।

अगष्ट १३ मा ओहायोमा सम्पन्न रियालिटी शोको भोटिङ्गका क्रममा उठेको सम्पूर्ण रकममध्येबाट नेपालको शरणार्थी क्याम्पमा अझै कष्टकर जीवन बिताइरहेका नेपाली भाषी भुटानीहरुका लागि खर्च गर्ने उद्घोष पनि उनले कार्यक्रममा गरेका थिए। उनले भने, ‘अब इन्ट्राले नेपालको शनिश्चरे र बेलडांगी क्याम्पमा स्वास्थ्य चौकी निर्माण गर्ने छ।’

उनले बर्षको २२ देखि २५ लाख रुपैंया नेपालका शरणार्थी सिविरमा खर्च गरिरहेको जानकारी पनि दिए। जसअन्तर्गत शिविरका वृद्ध आमा बुबाका लागि महिनाको ५ हजार रुपैंया बृद्ध भत्ता अमेरिकाबाट आफूहरुले निरन्तर पठाएरहेको पनि उनले बताए। त्यसैगरी नेपालको शिविरका ८ सय विद्यार्थीलाई ३० जना शिक्षक शिक्षिका राखेर गुणस्तरीय शिक्षामा आफूहरुले लगानी गरिरहेको जानकारी पनि उनले दिएका थिए।

अमेरिकामा व्यवसाय गरेर आर्जन गरेको आयबाट समुदायका लागि काम गरेको विवरण पेश गर्दा हलमा उपस्थित समुदायले उनको समर्थनमा ताली बजाइदिएको थियो। अधिकारीले बेलडागी शिविरमा बसोवास गर्नेहरुका लागि इन्ट्रा फाउण्डेसनले खानेपानीको स्थायी व्यबस्था गरिदिएको पनि बताएका थिए।

नेपालीपन, भाषा र संस्कृतिका लागि आफूहरुले गरेको योगदानको विरोधमा केही स्वार्थी तत्वहरुले बखेडा गर्न खोजेको भन्दै सामाजिक काममा हतोत्साही गर्न खोज्नेहरुबाट आफू नडराउने बरु अझ उत्साहका साथ सेवा कर्ममा लागेर नेपालीपनमार्फत संसारभरका नेपालीभाषी समुदायलाई एकताको सुत्रमा वाध्ने अभियानलाई व्यापक बनाउने उद्घोष पनि उनले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *