पाँचथरमा चुनावी सरगर्मी : गठबन्धन रहे तीब्र प्रतिस्पर्धा

डिसी नेपाल
३० साउन २०७९ ११:१७

पाँचथर। निर्वाचन मिति तोकिएसँगै पाँचथरमा चुनावी सरगर्मी सुरु भएको छ। पाँच दलीय गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा हुने विगतको मतबाट देखिन्छ। १ निर्वाचन क्षेत्र रहेको संघीय संसदमा हाल एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ सांसद छन्।

२०७४ को परिणामअनुसार कूल १ लाख २५ हजार २१९ मतदाता रहेको यहाँ नेम्बाङले ३८ हजार ६४१ मत पाएर बिजयी बनेका हुन्। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले २८ हजार २५ मत ल्याएका थिए।

१० हजार बढीको मतान्तरका कारण आगामी निर्वाचनमा गठबन्धन रहेपनि नेम्बाङले जित्ने धेरैको बुझाइ छ। पछिल्लो मतदाता संख्या करिव १५ हजारले बढेको छ। नयाँ मतदाताले कसलाई रोज्छन्, मत परिणाम त्यतै जाने विश्लेषण गर्न थालिएको छ।

प्रदेश संसदका २ निर्वाचन क्षेत्रमध्ये क मा एमालेका गणेशकुमार काम्बाङले २१ हजार १० मत ल्याएर विजयी बनेका थिए। नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले १६ हजार ७८ मत ल्याएर दोस्रो बनेका थिए।

निर्वाचन क्षेत्र ख मा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले १६ हजार ९०८ मत पाएर बिजयी बने भने कांग्रेसका सुरेन्द्रकुमार दाहालले १२ हजार ११७ मत ल्याएका थिए।

०७४ को निर्वाचनमा माओवादी केन्द्र र एमाले मिलेर निर्वाचनमा होमिएका थिए। एमालेबाट विजयी बनेका काम्बाङ नेकपा समाजबादीतिर लागेका छन्। यहाँ जिल्लाभर समाजबादीको करिव १ हजार मत रहेको अनुमान छ। माओवादी केन्द्रको करिव १० हजार मत आंकलन गरिन्छ।

गठबन्धनमा रहेका अन्य दलको यहाँ उपस्थिति अति न्यून छ। नेकपा एमालेका उपसचिव पृथ्वी लावती विगतको मत विश्लेषण गर्दा र नयाँ मतदाता गठबन्धनको विपक्षमा रहेका कारण एमालेले सहज रुपमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दावी गर्छन्।

कांग्रेस नेता तथा कार्यकर्ताहरु गठबन्धनकै कारण निर्वाचन जित्नेमा ढुक्क देखिन्छन्। कांग्रेसका मतदाताले माओवादीको चुवान चिन्हमा र माओवादीले कांग्रेसको चुनाव चिन्हमा सहज रुपमा मतदान गर्ने देखिन्न।

केन्द्र र जिल्लाको निर्देशनविपरीत सबै मतदाताले मतदान गर्नेमा कांग्रेसकै नेताहरु विश्वस्त देखिन्नन्। जसले घात र अन्तरघात हुने देखिन्छ। त्यसो भएको खण्डमा एमालेको पल्ला भारी हुन्छ।

निर्वाचन नजिकिँदै गर्दा दल र उमेदवारले कस्तो रणनीति अपनाउँछन्? त्यसले पनि मतदातालाई आकर्षण गर्छ। अब हेर्न बाँकी छ, चुनावी मुद्दा के के हुन्छन्? त्यसले पनि निर्वाचनमा प्रभाव पार्छ नै।

टिकट पाउने को ?

संघीय सांसदका लागि एमालेबाट बसन्तकुमार नेम्बाङ, कांग्रेसबाट भीष्मराज आङदेम्बे र माओवादी केन्द्रबाट इन्द्रबहादुर आङबोको नाम चर्चामा छ।

प्रदेश सांसदका लागि एमालेबाट अइन्द्रसुन्दर नेम्बाङ, पृथ्वी लावती, श्रीप्रसाद जवेगु चर्चामा छन् भने कांग्रेसबाट २०७४ मा पराजित नरेन्द्रकुमार केरुङ र सुरेन्द्रकुमार दाहाल अनि माधवकुमार नेपालको पार्टीबाट गणेशकुमार काम्बाङको नाम आएको छ।

संघमा बसन्तकुमार नेम्बाङ बिकल्पविहीन हुन्। उनको प्रतिस्पर्धी पार्टीमा कोही छैनन्। माओवादीले संघको सांसदमा दावी गर्दै आएको छ। यदि गठबन्धनबाट माओवादीले टिकट पाएमा इन्द्रबहादुर आङबो निर्बिकल्प हुनेछन्। उनले प्रदेशको अर्थ मन्त्री भएर जिल्लाका लागि राम्रो काम गरेका कारण उनी माओवादी भन्दा पनि विकासप्रेमी युवाका रुपमा चिनिन्छन्।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे सकेसम्म समानुपातिकममा रहने ध्येयमा छन्। उनी पराजित भएको ४ पटक भयो। जम्मा १ पटक चुनान जिते। त्यसैले पनि उनी सकेसम्म समानुपातिक र जनजातिको कोटाबाट सांसद बन्ने लक्ष्यमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *