सलमान रुस्दीका आक्रमणकारीका पिताले किन आफूलाई कोठाभित्र बन्द गरे ?

डिसी नेपाल
३१ साउन २०७९ १३:३३

काठमाडौं । चर्चित लेखक सलमान रुस्दीमाथि भएको आक्रमणले सारा विश्व स्तब्ध भएको छ । न्युयोर्कमा एक कार्यक्रमका क्रममा सलमान रुस्दीलाई चक्कुले पटक पटक प्रहार गरिएको थियो ।

रुस्दीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान हादी मतरको रूपमा भएको छ । अहिले आक्रमणकारी मतरका बुवाले आफूलाई आफ्नै घरमा कैद गरेको खबर आएको छ । उनले यस विषयमा कसैसँग कुरा गर्न अस्वीकार गरेका छन् ।

लेबनानको यारोनका मेयर अली ताहाफेले आक्रमणकारीका बुबाले दक्षिणी लेबनानमा रहेको आफ्नो घरमा आफूलाई कैद गरेको र कसैसँग कुरा गर्न अस्वीकार गरेको बताएका छन्। मतर (२४) लेबनानका हुन् । उनको परिवार दक्षिणी लेबनानको यारोनबाट आएको हो।

रोयटर्सको रिपोर्टका अनुसार आक्रमणकारीका अभिभावक लेबनानबाट आएर अमेरिकामा बसोबास गरेको ताहाफेले बताए । मतर अमेरिकामै जन्मिए र हुर्केका हुन् । तर उनका बुबा केही वर्षअघि लेबनान फर्किएका थिए ।

ताहाफेले आक्रमणकारीका बुवा अहिले पनि देशमै रहेको तर आफूलाई घरमै थुनेर राखेको र यस विषयमा कुनै किसिमको बयान नदिएको बताए । उनले भने – हामीले प्रयास गर्‍यौं, उनको घरमा मानिसहरू पठायौं। हामी आफै गएर उनको ढोका ढकढक्यौं तर उनी कसैसँग कुरा गर्न तयार छैनन्।

लेबनानको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका एक अधिकारीले रुस्दीमाथि भएको आक्रमणको बारेमा आफूलाई कुनै थप जानकारी नभएको बताए। अधिकारीले नाम नबताउने सर्तमा भने, “हामीलाई यस विषयमा कुनै जानकारी छैन, त्यसैले हामी टिप्पणी गर्दैनौं।”

हिजबुल्लाह समूहलाई इरानको समर्थन पनि रहेको छ । समूहका पूर्व नेता अयातोल्लाह रुहोल्लाह खामेनीले सन् १९८९ मा रुस्दीविरुद्ध ईश्वरनिन्दाको आरोपमा फतवा जारी गरेका थिए।

मतर वा उनका आमाबाबुले कुनै पनि हिसाबले हिजबुल्लाहलाई समर्थन गरेका छन् वा जोडिएका छन् भनेर सोध्दा, ताहाफेले भने कि मतरका आमाबाबुको राजनीतिक विचारहरूको बारेमा आफूलाई कुनै जानकारी छैन।

भारतीय मूलका रुस्दीमाथि शुक्रबार न्यूयोर्कमा एक कार्यक्रमका क्रममा आक्रमण भएको थियो । आक्रमणकारीले उनलाई पटकपटक छुरा प्रहार गरेका थिए । उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

बुकर पुरस्कार विजेता सलमान रुस्दी ‘द सैटानिक भर्सेस’ लेखेपछि विवादमा परेका थिए । सन् १९८८ मा प्रकाशित यो पुस्तकलाई लिएर विवाद भएको थियो । सन् १९८९ मा इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह खोमेनीले इस्लामको अपमान भएको भन्दै फतवा जारी गरे । सलमान रुस्दीको यो किताब भारतलगायत धेरै देशमा प्रतिबन्धित छ ।

सलमान रुस्दीको हत्या गर्ने व्यक्तिलाई खोमेनीले ३० लाख डलर पुरस्कार दिने घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *