‘जासुसी’ जहाज श्रीलंकाको हम्बनटोटा पुगेपछि भारतको चिन्ताबारे चीनले दियो यस्तो जवाफ

डिसी नेपाल
१ भदौ २०७९ १०:४९

काठमाडौं । आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने बताएको छ । चीनले कुनै पनि तेस्रो पक्षले जहाज रोक्न नहुने बताएको छ।

यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो।

चीनले युआन वाङ–५ नामक जहाजमार्फत भारतको आणविक, क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिष्ठानको जासुसी गर्न सक्ने भारतलाई डर छ ।

समाचार एजेन्सी पीटीआईले चीनको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै भनेको छ कि जहाज ट्र्याकिङ स्याटेलाइट र ब्यालिस्टिक मिसाइल जस्ता उन्नत प्रविधिले सुसज्जित छ। यसमा दुई हजार चालक दलका सदस्य बोक्न सक्ने क्षमता छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतको चिन्ताबारे सोधिएको प्रश्नको जवाफमा उक्त जहाज ‘अन्तर्राष्ट्रिय कानूनअनुसार’ अनुसन्धानका लागि हम्बनटोटा पुगेको बताए ।

“म युआन वाङ-५ को सामुद्रिक वैज्ञानिक अनुसन्धान गतिविधिहरु अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सामान्य प्रक्रिया अनुसार भएको कुरा दोहोर्याउन चाहन्छु,” उनले भने।

“यो जहाजले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर गर्दैन। यसलाई कुनै तेस्रो पक्षले रोक्ने प्रयास गर्नु हुँदैन,” वेनबिनले भने।

हम्बनटोटा बन्दरगाह बेइजिङले सन् २०१७ मा श्रीलंकाबाट ९९ वर्षको भाडामा लिएको थियो। श्रीलंकाले व्यापक छलफलपछि चिनियाँ जहाजलाई हम्बनटोटा आउन अनुमति दिएको बताएको छ ।

चीनले यो बन्दरगाहलाई सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतलाई डर छ । १.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ।

चीनले युआन वाङ 5 लाई अन्तर्राष्ट्रिय ढुवानी र अनुसन्धान-सर्वेक्षण जहाजको रूपमा वर्णन गर्दछ, तर यसलाई दोहोरो प्रयोगको जासूस जहाज पनि भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *