आठवर्षे बालिकाले रेडियो उपकरण प्रयोग गरेर अन्तरिक्षयात्रीसँग कुरा गरिन्
लण्डन (बीबीसी) । यूकेको केन्ट निवासी एक आठ वर्षीया बालिकाले आफ्नो बुबाको ह्याम रेडियो भनिने सोखका लागि उपयोग गरिने उपकरण प्रयोग गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा रहेका एक अन्तरिक्षयात्रीसँग कुरा गरेकी छन्।
आईएसएस केन्टमाथिबाट घुम्दा इसाबेलाले अमेरिकी अन्तरिक्षयात्री चेल लिन्ड्ग्रनसँग झन्डै ४५ सेकेन्ड कुरा गर्न पाइन्। डा. लिन्ड्ग्रनले त्यो वार्ता “आफ्नो अहिलेसम्मकै सबैभन्दा मन परेको कुराकानी हुन सक्ने” बताएका छन्।
इसाबेलाले उक्त कुराकानीलाई “अद्भुत”को सङ्ज्ञा दिँदै भनिन्: “म आठ वर्षकी भन्ने थाहा पाउनेबित्तिकै उनको बोली सामान्यबाट हर्षित सुनियो।”
कुराकानीपछि ट्वीट गर्दै डा. लिन्ड्ग्रनले आफू पनि ह्याम रेडियोको सौखिन भएको जनाएर इसाबेलालाई सम्बोधन गर्दै लेखेः “कुरा गर्दा रमाइलो भयो, रेडियोमा आएर हेलो भनेकोमा धन्यवाद।”
इसाबेलाले भने त्यो घटनाले आफू प्रेरित भएको बताउँदै यसले “केटा र केटीहरू चाहेको जे पनि गर्न सक्छन्” भनेर प्रमाणित भएको बताइन्।
इसाबेलाका बुवा म्याथ्यूसँग १५ वर्षभन्दा अघिदेखि सौखिन रेडियो सञ्चालन गर्ने अनुमति छ। उनले आईएसएस केन्टमाथिबाट जान लागेको थाहा पाएका थिए।
उनले भने: “आईएसएस हामीमाथिबाट गइरहेको सही समय र अन्तरिक्षयात्रीले ह्याम रेडियो चलाइरहेको सही समय मिल्नुपर्छ।”
“त्यो कुरा गर्ने मान्छे म नभएकोमा मलाई अलि लोभ लाग्यो। तर इसाबेलाले सम्पर्क गरेको कुरा निकै रमाइलो थियो।”
आमाबुबाले इसाबेलाले लामो समयदेखि अन्तरिक्ष र ह्याम रेडियोमा रुचि देखाएको बताएका छन्।
ह्याम रेडियो सञ्चालन गर्न यूकेमा अनुमति लिनुपर्छ। नेपालमा पनि ह्याम रेडियो सञ्चालनका लागि अनुमति लिनुपर्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment