लाभका पदबाट टाढै बस्ने प्रदीप गिरि बुहआयामिक व्यक्तित्व

विजयप्रसाद मिश्र
२ भदौ २०७९ ७:३६

प्रदीप गिरिलाई पद कहिल्यै चाहिएन। उनले भन्ने गरेका थिए, ‘कसैलाई बदमान गराउनु छ भने मन्त्री बनाइदिनु पर्छ।’ पद नचाहने व्यक्तित्वका रुपमा नेपालको इतिहासमा सिला खोज्ने हो भने लौहपुरुष गणेशमान सिंहको नाम पहिलो नम्बरमा आउँछ।

२०४६ सालको जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्ने अफर गरेका थिए। तर उनले आफूलाई नभइ कृृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन आग्रह गरेर पदको लोभ नभएको नेताको रुपमा इतिहासमा दर्ज भए।

त्यसपछि चर्चामा नआएको तर बास्तविकतालाई सूक्ष्म रुपमा केलाउँदा प्रदीप गिरिकै नाम दोस्रोमा आउँछ। किनकी दुई दुई स्थानबाट संविधानसभामा हारेका व्यक्ति माधवकुमार नेपाल त लाजै पचाएर प्रधानमन्त्री बनेका थिए। प्रचण्ड जसले भूमिगत कालमै आफ्नो पार्टी सरकारमा जाने अवस्था आएमा दोस्रो पुस्तालाई मात्र पठाउने भनेर केन्द्रीय समितिबाट निर्णय गराए पनि सबैभन्दा पहिले उनलाई नै प्रधानमन्त्रीको पद चाहियो।

अहिले पनि एकपटक फेरि प्रधानमन्त्री हुने रहर छ भन्दैछन्। तर, प्रदीप गिरि त्यस्ता व्यक्तित्व हुन जसलाई नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले ‘तपाईंलाई प्रधानमन्त्रीमा नियुक्त गर्दछु’ भनेर प्रस्ताव राख्दा समेत मानेनन्।

कुरा रुक्माङ्गत कटुवाल प्रकरणले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बेला राष्ट्रपति यादवले राजनीतिक समस्या समाधानका लागि प्रदीप गिरिलाई आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्रीमा नियुक्त गर्ने इच्छा जाहेर गरेका थिए। गिरिले उनको प्रस्ताव ठाडै अस्विकार गरेका थिए।

सोही दिन एमालेका नेता केपी ओलीले गिरिलाई भेटेर राष्ट्रपतिको प्रस्ताव स्वीकार गर्नुस एमालेको साथ तपाईंलाई रहनेछ समेत भनेर आश्वासन दिएका थिए। तर पनि गिरिले प्रधानमन्त्रीको पदको अफर अस्वीकार गरेका थिए।

लगभग पाँच बर्ष अघि प्रदीप गिरि क्यान्सर पीडितभई मुम्बई र दिल्लीमा राम्रो उपचार पछि निको भएर सक्रिय राजनीतिमा लागेका थिए। मेरो विद्यावारिधिको सन्दर्भमा केही अनुसन्धान र अध्ययन गर्न दिल्ली र कलकत्ताका केही पुस्तकालयहरु जानुपर्ने थियो। यसको लागि मैले प्रदीप गिरिको सहयोग लिए।

म करिब एक महिना दिल्लीमा बसेर अध्ययन गर्दा गर्दै उहाँको उपचारको फलोअप चलिरहेको थियो। दिल्लीमा प्रदीप गिरिको बासस्थान भएकै ठाउँमा म पनि बसेको थिएँ। त्यसबेला उनले कोठा नजिकै रहेको पार्कमा साँझमा घुम्न मलाई समेत लिएर गए। घुम्दा घुम्दै म कहिले मेची त कहिले महाकाली पुगिरहने स्वभावको भएकाले मेरो फुर्सतको बारेमा सोधे। प्रदीप गिरिको जन्मथलो बस्तीपुरमा उनले पछिल्लो समय आश्रम खोलेका छन्।

उक्त आश्रमले गर्ने बौद्धिक कामका लागि मलाई समय दिनको लागि कत्तिको सकिन्छ भन्ने उनको प्रश्न थियो। म विराटनगरमा महेन्द्र मोरङ क्याम्पसमा पढाउने र घर परिवारसमेत विराटगर मै सिफ्ट गरेकोले बस्तीपुरका लागि समय दिन सक्ने नसक्ने नै उनको जिज्ञासा थियो।

सानोमा म बस्तीपुर, सिमलटोकी र लहान तिर हुर्किएकोले बस्तीपुरको माया बढी थियो। त्यसैपनि प्रदीप गिरिसँग मानिसलाई भेट्न नै महिनौ लाग्ने सुनेको थिएँ। बिराटनगरको प्राज्ञिक जीवनमा व्यस्त भइरहेको बेला म बारम्बार काठमाडौंका सेमिनार र तालिमहरुमा आउँथे। एक दिन प्रदीप गिरिसँग भेटन मन लाग्यो।

उनी भिमसेन गोलाको सेतो घरमा बस्थे। मलाई भोलि बिहान १० बजे आउनु भने। म बोलाएको समयमा पुगेँ। तर फेरि ११ बजेपछि आउनु भन्ने आदेश माथीबाट आयो। म गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा बालुवाटारमा बुबासँगै जाँदा पिएले दुई घण्टा कुराएको झोंकमा कहिल्यै यिनलाई भेटदिन भनेर रिसाएर हिडेको थिएँ।

प्रदीप गिरि त्यस्ता व्यक्तित्व हुन जसलाई नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले ‘तपाईंलाई प्रधानमन्त्रीमा नियुक्त गर्दछु’ भनेर प्रस्ताव राख्दा समेत मानेनन्।कुरा रुक्माङ्गत कटुवाल प्रकरणले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बेला राष्ट्रपति यादवले राजनीतिक समस्या समाधानका लागि प्रदीप गिरिलाई आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्रीमा नियुक्त गर्ने इच्छा जाहेर गरेका थिए। गिरिले उनको प्रस्ताव ठाडै अस्विकार गरेका थिए।

बुबाले कुरेर पनि भेट्नु भयो। तर म भेट्न कुर्न चाहिन। प्रदीप गिरिसँग पनि त्यस्तै भयो। बोलाएको टाइममा नभेट्ने भनेपछि मेरो मनमा के भो के भो। आ, पछि आएर भेटछु भनेर यति एयरलाइन्सको ओपन डेट टिकेट भएकोले एयरपोर्टतर्फ लागे।

संजोगले उड्न तयारीमा रहेको प्लेनमा सिट खाली रहेछ उडेर बिराटनगर एयरपोर्ट पुगेँ। प्रदीप गिरिले लगभग १२ बजेर ३० मिनेट तिर फोन गर्दा म बिराटनगर एयरपोर्ट पुगेर भर्खर मोबाइन खोलेको थिएँ। मैले दाई म त बिराटनगर पुगेँ। पछि आएर भेटछु भने। मेरो यस्तै चालाले होला उनले मसँग समय कत्तिको छ भनेर सोेधेको।

त्यसबेला पहिलो पटक उनले आफ्नै मुखले मलाई आफ्नो विरामीको बारेमा बास्तविकता बताएकोले म सम्वेदनशील भएँ। तर, कतिपय कुरा गोप्य राख्नु पर्ने भएकोले उनको पहिलो चरणमा भएको क्यान्सरको बारेमा परिवारिक सदस्य र असल मित्रहरुबाहेक बाहिर आएको थिएन। हुन त दोस्रो पटक घाँटीमा भएको क्यान्सरका बारेमा पनि उनी मिडियामा समाचार बन्न चाहेका थिएनन्। तर बिमलेन्द्र निधिलेगर्दा उनी पटक पटक समाचार बने।

सांसद भएपनि प्रदीप गिरिले सरकारी सहयोग लिन चाहेनन्। दिल्लीको कुनै बगैँचामा साँझपख घुम्दाघुम्दै उनले मलाई बस्तीपुर आश्रममा नियमित रुपमा आएर बौद्धिक काममा सहयोग गर्न भने। हाम्रो सिंगो परिवारको प्रेरणाको पात्र उनको बुबा मित्रलाल गिरि र उनी स्वयं भएकाले नमान्ने कुरै भएन। प्रदीप गिरिसँग भेट्नका लागि कस्ता कस्ता भीआईपीहरुले चाहना गर्दा पनि पाउँदैनन्।

तर मलाई उनले नै अफर गरेकोले म बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढाउँदा शुक्रबार आश्रम जाने र आइतबार फर्किने गर्न थालेँ। कतिपय अवस्थामा विद्यावारिधीको लागि लिएको बिदा परेकोले अन्यत्र तालिम वा अनुसन्धानका लागि जानु नपर्दा म टुप्लुक्क बस्तीपुर आश्रममा पुग्ने गरेको थिएँ। प्रदीप गिरिले आश्रममा संलग्न सबैलाई राखेर कहिले धार्मिक, कहिले राजनीतिक, कहिले सामाजिक, कहिले आर्थिक र कहिले भजन किर्तनका कुराहरु सुनाउने गर्दथे।

म त्यस्तो भाग्यमानी थिएँ कि प्राय सबै उनको विचारहरु सुन्ने, रेकर्ड गर्ने र टाइप गरेर स्टोर गरेर राख्नेहरु मध्ये एउटामा दर्ज भएँ। हुनत विकास हमाल, बालकृष्ण भट्टराई, कृष्ण खनाल, शम्भु यादव लगायतले प्रदीप गिरिले व्यक्त गर्नु भएको विश्व हल्लाउने, नेपालको सरकार र संसद हल्लाउने विचारहरुका धेरै कथाहरु छन्। जुन यस लेखमा पुरै बर्णन गर्नु भन्दा क्रमश : लेख्दै जानु उचित होला।

तर यहाँ प्रसंग त्यही बस्तीपुर आश्रममा प्रदीप गिरिसँग अनौपचारिक कुरा गरिरहँदा मैले प्वाक्क एउटा प्रस्ताव राखेको थिएँ। सायद बिहान बस्तीपुर आश्रमदेखि पूर्वको खुट्टी खोला तरेर आउने गाउँमा घुम्न गएका थियौं। प्रदीप गिरि सेतो कुर्ता र पाइजमामा थिए। गान्धी शैलीमा ओढ्न ओढेका थिए र हातमा एउटा लौरो थियो। म उनीसँगै थिए।

खोलाको डील चढ्दा मेरो पाखुरा पक्रिएर अघि बढेको अझै पनि ताजै लाग्छ। खोला तरेर पूर्वको डीलमा पुगेपछि थाकेजस्तो गरेर उनी सुस्ताए। म बसेँ। कसैले उनलाई जागिर लगाइदिन भनेको कुरा संझिए र त्यहीँ बसेर फोन गर्न थाले। उनले त्यो फोन गरेको सुन्दा फुर्सदमा प्रदीप गिरि आफ्नो नजिकका कार्यकर्ताहरु, नेताहरुको परिवारका सदस्यको बारेमा पनि सुक्ष्म रुपमा बुझ्न खोज्ने र सकेसम्म समस्या समाधान गर्न खोज्ने प्रबृत्तिको रहेको पाएँ।

एकछिन सुस्ताएर हामी गाउँ तिर गयौं। एकजनाको सानो घरमा बाहिरबाटै चापाकल देखियो। प्रदीप गिरिले पानी प्यास लाग्यो यो घरमा पानी खाउँ भने। म घर भित्रको आगनमा पसेर को छ घरमा भनेर सोधे। एकजना स्कुले बालक बाहिर आए। पानी खाने गिलास छ भनेर सोधे। उनले भित्रबाट अम्खोरा लिएर आए।

मैले कल केही बेर चलाएर अम्खोरामा पानी भरेर प्रदीप गिरिलाई दिएा। गिरि पानी पिउँदै थिए। घरबाट अभिभावक निस्किए। उनी सुतिरहेका रहेछन्। बाहिर आएर थारु समुदायका ती अभिभावकले मलाई सोधेः उहाँ त प्रदीप गिरिजस्तो लाग्छ? मैले हो भन्ने बित्तैकै उनी खुसी हुँदै हात जोडेर नमस्कार गर्दै ‘नेताजी यति ठूलो मानिस मेरो घरमा आउनु भो, मेरो छोरालाई नोकरी लगाइदिनुस्।

यो सुनेपछि केहीबेर प्रदीप गिरि र अभिभावकको कुरा चल्यो। मलाई भने नेपालको प्रत्येक परिवारलाई के चाहिएको रहेछ भन्ने बुझ्न सहज भयो। प्राय:  धेरै जसो मानिसहरु प्रदिप गिरिकोमा जागिर लगाइदिनु भनेर नै आउने गर्दथे। मैले यति कुरा किन बताएको भने त्यो दिन आश्रममा फर्किएर आएपछि गाउँको आशा पुरा गर्न के गर्न सिकिन्छ भन्ने बहस चलेको थियो। सबैले आआफ्नो तर्क दिए। मैले प्रदीप गिरिलाई ‘अब तपाई नेपालको राष्ट्रपति हुनुपर्दछ। जनसम्पर्क बढाउन सबै जिल्ला घुम्नु पर्दछ’ भनेँ। मेरो कुरा सक्किन नपाउँदै गिरिले ‘ तिमीहरुले मलाई चिनेका रहेनछौ’ भने।

किन भन्ने हाम्रो प्रश्न आउनु स्वभाविक थियो। त्यसबेला उनले डा. रामवरण यादव र केपी ओलीले प्रधानमन्त्रीको लागि गरेको प्रस्ताव सुनाएका थिए। प्रदीप गिरिलाई मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति केही नचाहिने रहेछ, उनी अध्ययन गर्ने र जोगिजस्तो भएर सबैको साझा भएर बस्न रुचाउने व्यक्तित्व रहेछन् भन्ने अनुभुति गर्नु सिवाय अरु केही विकल्प हामीसँग भएन।

कृष्णप्रसाद भट्टराईको दोश्रो प्रधानमन्त्रीत्व कालमा स्वयम किसुनजीले परराष्ट्र मन्त्री बनेर सरकारलाई सहयोग गर्न गरेको अनुरोधमा प्रदीप गिरिले सहयोग त गर्छु, तर सरकारमा बस्दिन भनेका थिए। त्यही व्यक्तित्व जसले कुनै सरकारी पद लिन चाहेन। सांसद पद पनि दैनिकी गुजार्न नियमित तलब आउने भएकोले मात्र बनेको भनेर कहिलेकाँही व्यङ्ग गरेको त हामीले मिडियाबाटै सुनेका थियौं।

गिरिजाप्रसाद कोइरालाले उनी पहिलो चोटी प्रधानमन्त्री हुँदा प्रदीप गिरिलाई बोलाएर कुनै राजनैतिक लाभको पद वा केही प्रलोभन देखाएर फकाउन खोज्दा गिरिले ठाडै दुत्कार गरी-“गिरिजाबाबु! तपाईंसँग मलाई दिने कुनै त्यस्तो चीज के छ र? जुन चीज दिन भनिकन मलाई यसरी फकाउँदै हुनुहुन्छ? भन्ने जवाफ दिएका थिए।

बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हिजो आज निमोनियाँ लागेर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन्। उनलाई हेर्न, बुझ्न एक साता अघि म पनि मेडिसिटी अस्पतालमा पुगेको थिएँ। उनी सुतिरहेका थिए। झट्ट हेर्दा उनको अनुसार पहिलेभन्दा दुब्लाएको, हामीसँग पहिले पहिले भेट्दाको जस्तो ओजस्वीभन्दा पनि रोगले थला परेको जस्तो देखेँ। मनमा धेरै प्रश्नहरु एकैसाथ उब्जिए। मेरो ५४ बर्षको उमेरमा एक्कासी मेरो मनमा धेरै कुरा खेलेको सायद त्यो नै पहिलो दिन थियो।

शुरुमा उनको अनुहार नै परिवर्तन भएर उनको बुबा मित्रलाल गिरिको जस्तो देखेँ। मेरो मुखबाट प्वाक्क निस्कियो पनि ‘अरे, बुबाको जस्तो पो देखिनु भयो त?’ तर अस्पताल प्रशासनले धेरै बेर हेर्न बस्न दिने प्रचलन नै रहेनछ। बोल्न त पाइएन।

पछि खबर आयो, आइतबार तिर डिस्चार्ज हुने कुरा छ, घर गएपछि बोलाउँछु। हस, भन्नु बाहेक मसँग के नै विकल्प थियो र? त्यसपछि कस्ता कस्ताले त भेटपाइरहेका छैनन् भन्ने नयाँ नयाँ कथा दिनै पिच्छे सुनिन थाल्यो। कतिपय अवस्थामा प्रदीप गिरिले देशकै प्रमुख, सरकार प्रमुखहरुको फोन समेत नउठाएको आफैले पहिले पहिले धेरै अनुभुति गरेकोलाई अहिले साच्चिकै उनी विरामी हुँदा उनको शिघ्रस्वास्थ्य लाभको कामना गर्नु हामी सबैको कर्तव्य हो।

लगभग कृष्ण भगवानको चरित्रसँग कतिपय अवस्थामा तुलना गर्ने व्यक्तिको रुपमा चिनिएका प्रदीप गिरिका अनुयायीहरुले उनको लागि यही साता काठमाडौंमा प्रार्थाना सभासमेत राखेका छन्। कृष्णाष्टमी पनि आजभोलि मै आउँदैछ। हामी भगवानसँग आशिर्वाद मागौं प्रदीप गिरि छिट्टै निको भएर संसद, सार्वजनिक कार्यक्रम र मिडियामा आफ्नो बिचार दिन सक्षम हुनुहोस्।

विश्व तेस्रो विश्वयुद्धको चपेटामा पर्न लागेको होकी भन्ने अनुभुति भइरहेको छ। यस्तोमा प्रदीप गिरिको अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा सुन्ने रहर मलाई मात्र होइन सिंगो नेपाली जगतलाई मात्र होइन, विश्वलाई छ। सबैको मनको कामना पूरा होस्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा मेडिसिटी अस्पतालमा उपचार गराइरहेका समाजवादी व्यक्तित्व प्रदीप गिरिलाई भेट्न अस्पताल गएका थिए। यो समाचार पढेपछि गिरिका बारेमा चाँसो राख्ने नेपालीहरुको लागि केही हिजोका र केही आजका सूचनाहरु लेख्ने जमर्को गरेको हुँ।

प्रदीप गिरिले संसदमा गरेको एउटा भाषणले केपी ओलीको पहिलो प्रधानमन्त्री काललाई हल्लाएको थियो। त्यसबेला गिरिले प्रजातन्त्र भनेको संसदको अंकगणित मात्र होइन, राजनीतिक नैतिकता पनि हो भन्ने आशयले सिंगो संसदलाई ट्यूशन पढाएजस्तो गरेका थिए। त्यसले नेपालको बौद्धिक बर्ग प्रदीप गिरिको विचार सुन्न जहिले पनि लालायित हुने गरको छ।

उहिले बीपी कोइरालाले इन्दीरा गान्धीसँगको भेटमा प्रदीप गिरिलाई समेत लैजादा प्रदीप गिरिको थोरै भए पनि बोली बचन, ज्ञान र व्यक्तित्व देखेर बीपीलाई– “बीपी बाबु यह लडका कुछ है, अवश्य कुछ बनने जैसा है“ भनेकी थिइन्। गान्धीले भनेजस्तै उहाँको विद्यालय, कलेज जीवनका कथाहरु अझ प्रेरणादायी छन्। जसलाई क्रमश लेख्नेछु।

गिरिजाप्रसाद कोइरालाले उनी पहिलो चोटी प्रधानमन्त्री हुँदा प्रदीप गिरिलाई बोलाएर कुनै राजनैतिक लाभको पद वा केही प्रलोभन देखाएर फकाउन खोज्दा गिरिले ठाडै दुत्कार गरी-“गिरिजाबाबु! तपाईंसँग मलाई दिने कुनै त्यस्तो चीज के छ र? जुन चीज दिन भनिकन मलाई यसरी फकाउँदै हुनुहुन्छ? तपाईंले दिन खोजेको चीज केही पनि मलाई चाँहिदैन, म स्वीकार गर्दिन र मलाई चाहिने चीज तपाईंसँग छँदा पनि छैन“ भनी जवाफ फर्काएका थिए।यो सुनेर त्यसबखत कोइराला जिल्ल परेका थिए।

प्रदीप गरिले वि.सं. २०३६ सालमा सिरहा जिल्लाको विभिन्न क्षेत्रमा गएर आन्दोलनको अभियान चलाउँदादेखि उनको राजनीतिक जीवनका बारेमा जान्ने बुझ्ने मौका पाएकोले उनीसँगका स्मरणहरुले मेरो मानसपटलमा दैनिक नयाँ नयाँ विचारहरु उब्जिने गरेको छ।

प्रदिप गिरिसँग उनी निको भएर घर फर्किएपछि गर्नुपर्ने कुरा धेरै छन्। तर अहिलेलाई उनले नेपाली कांग्रेसको महाधिवेशन पछि काठमाडाौं आएको बेला टेलिफोनमा गरेको कुराकानी मध्ये ‘सत्यकुरा बोल्न कोहीसँग नडराउनु, निडर हुनु’ भनेकोलाई हिजोआज मैले मूलमन्त्र बनाएको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.