चीनको चेतावनीका बाबजुद अमेरिकाले ताइवानसँग महत्वपूर्ण सम्झौता गर्‍यो, तनाव बढ्न सक्ने

डिसी नेपाल
२ भदौ २०७९ १५:४४

काठमाडौं । अमेरिकाले चाँडै नै ताइवानसँग औपचारिक व्यापार वार्ता सुरु गर्ने घोषणा गरेको छ । केही दिनअघि अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा चीनले कडा आपत्ति जनाएको थियो। यसपछि चीनले ताइवानको वरिपरि केही दिनसम्म व्यापक सैन्य अभ्यास पनि गरेको थियो ।

अमेरिकाका अनुसार पहिलो चरणको वार्तामा व्यापार सहजीकरण, डिजिटल व्यापार र भ्रष्टाचार नियन्त्रणका विषयमा छलफल हुनेछ । पेलोसीको भ्रमणलाई लिएर अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

पेलोसीको भ्रमणपछि अमेरिकी सांसदहरूको टोलीले पनि ताइवानको भ्रमण गरेका थिए । २१ औं शताब्दीको व्यापारमा अमेरिका-ताइवान पहल यस वर्षको जुनमा घोषणा गरिएको थियो। दुवै पक्ष अहिले वार्ताका लागि तयार रहेको बताउँदै आएका छन् ।

अमेरिकी उपव्यापार प्रतिनिधि साराह बियान्चीले भनेकी छिन्, ‘हामीले निष्पक्ष, समृद्ध र उदार अर्थतन्त्र निर्माण गर्न तोकिएको समयसीमाभित्र काम गर्ने योजना बनाएका छौं । सन् २०२० मा अमेरिका र ताइवानबीच करिब १०६ अर्ब डलरको व्यापार भएको थियो । ताइवानका राष्ट्रपति साइ इङ वेनले ट्वीट गर्दै यसको स्वागत गरेकी छिन् ।

उनले लेखेकी छिन्– म अमेरिका–ताइवान पहलअन्तर्गत वार्ताको सुरुवातलाई स्वागत गर्छु । यो ताइवानको लागि अमेरिका र विश्वसँग व्यापार सम्बन्ध निर्माण गर्नको लागि महत्त्वपूर्ण मार्ग हो। यो सम्भव गराउने सबैलाई धन्यवाद। न्यान्सी पेलोसीको भ्रमणपछि चीनले व्यापक सैन्य अभ्यास गरिरहेको बेला ताइवान र अमेरिकाको यो घोषणा आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *