अमेरिकाकी सभामुख न्यान्सी पेलोसीका पतिलाई मापसे गरेर गाडी चलाएको आरोपमा जेल सजाय

डिसी नेपाल
८ भदौ २०७९ १२:११
88
Shares

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमानलाई मदिरा सेवन गरी सवारी चलाएको अभियोगमा पाँच दिनको जेल सजाय सुनाइएको छ ।

पल पेलोसीले मे २०२२ मा आफूले मादक पदार्थ सेवन गरी गाडी चलाएको स्वीकार गरेका छन्, जसका कारण उनको कार दुर्घटनाको शिकार भएको थियो ।

यद्यपि, पल पेलोसीलाई यस मुद्दामा गम्भीर आरोपबाट मुक्त गरिएको थियो। पल पेलोसीले १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका थिए ।

तर ८२ वर्षीय पल पेलोसी जेलमा बस्नुपर्ने छैन। वास्तवमा, दुर्घटनाको रात २८ मे, २०२२ मा उनी जेलमा बसे, जसलाई अदालतले दुई दिनको लागि कैद मानेको थियो।

यस बाहेक उनको असल व्यवहारलाई ध्यानमा राख्दै दुई दिनको कैद मिनाहा भई अन्तिम दिनको सजायस्वरुप आठ घण्टा सामुदायिक सेवामा बस्नुपर्ने भएको छ ।

यो सजायपछि पेलोसीको ड्राइभिङ लाइसेन्स पनि फिर्ता लिइने छैन । उनले आफ्नो गाडीमा इग्निशन उपकरण प्रयोग गर्नुपर्नेछ, जसबाट इन्जिन सुरु हुनु अघि अल्कोहल परीक्षणको लागि सासको नमूना दिइन्छ।

मंगलबारको सुनुवाइमा पल पेलोसी अदालतमा उपस्थित थिएनन्। क्यालिफोर्नियाको ओकभिलमा राति दुर्घटना भएको हो । पल पेलोसी आफ्नो पुरानो साथीलाई भेट्न घरबाट निस्केका थिए।

प्रहरी रिपोर्टका अनुसार उनले आफ्नो कालो रंगको पोर्शे कारलाई घर नजिकै पार्किङ गरिएको जीपमा ठोक्काए । दुर्घटनामा दुवै सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *