गठबन्धनको नाममा निषेधको राजनीति नगर्न देउवालाई ओलीको चेतावनी

डिसी नेपाल
८ भदौ २०७९ १२:४७

काठमाडौं। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दुई जना विश्वासपात्र सुवास नेम्वाङ र विष्णु पौडेललाई दिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे।

सरकारबाट बाहिरिएपछि ओलीको यो दोस्रो बालुवाटार यात्रा थियो। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग लामै छलफल गरे र, विभिन्न विषयमा सरकारको धारणा जान्न चाहे।

विशेष गरी सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा बढी चासो राखेका थिए। सरकारले द्वन्द्वकालीन मुद्दा किनारा लगाउने भन्दै बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा पेश गरेको छ।

सोही विषयमा ओलीले प्रधानमन्त्री देउवासँग बढी चासो राखेका थिए। सरकारले द्वन्द्वकालीन मुद्दा निरुपण गर्ने महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफल नै नगरेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाएको उक्त भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

आफ्नो नेतृत्वको सरकारले टीआरसीका विषयमा धेरै वर्ककाउट गरेको तर गठबन्धन सरकार बनेपछि एक वर्षसम्म सिन्को नभाँची संसदको कार्यकाल सकिन लागेपछि विधेयक दर्ता गरेको भन्दै ओलीले प्रश्न उठाएका थिए।

ओलीले अहिले छोटो बाटोबाट विधेयक पारित गर्न लागेको भन्दै व्यापक छलफल, अन्तर्राष्ट्रिय मूल्य मान्यता र पीडितको माग सम्वोधन हुने गरी विधेयक पारित गर्नुपर्नेमा जोड दिएका थिए। त्यस्तो अवस्थामा एमाले सहयोग गर्न तयार रहेको ओलीको भनाइ थियो।

सो छलफलमा ओलीले आफूहरु गठबन्धनको विरोधी नभएको तर गठबन्धनमा नाममा आफ्नो पार्टीलाई निषेध गर्ने काम नगर्न प्रधानमन्त्री देउवालाई चुनौती दिएका थिए।

‘अहिले गठबन्धन लोकतान्त्रिक मूल्य मान्यता अनुसार चलेन, लोकतन्त्रमा प्रतिश्पर्धा स्वभाविक हो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘गठबन्धनले प्रतिश्पर्धा भन्दा पनि निषेधको राजनीति अपनायो। प्रतिपक्षलाई एक्ल्याउने प्रयास गरियो। कुनै पनि निहुमा निषेधको राजनीति एमालेलाई स्वीकार्य छैन।’

सो छलफलमा अध्यक्ष ओलीले आगामी निर्वाचन निष्पक्ष हुनेमा शंका रहेको बताएका थिए। साथै ओलीले महंगीको मार अचाक्ली बढ्दासमेत सरकार मुकदर्शक बनेको बताएका थिए।

जवाफमा प्रधानमन्त्री देउवाले आफू सहमतिबाटै अगाडि बढ्न चाहेको भन्दै ओलीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए। प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षले उठाएको विषयमा आफू सकारात्मक रहेको बताएका थिए।

‘तपाईंले उठाएका विषयमा म सकारात्मक छु, पहिला पार्टी भित्र छलफल गर्छु, त्यसपछि गठबन्धनमा छलफल हुन्छ,’ देउवाको भनाइ थियो। दुई उपाध्यक्षसहित नौ बजे बालुवाटार पुगेका ओली एक घण्टा छलफल पछि बाहिरिएका थिए। सो भेटमा प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *