राजीनामा पनि नदिने, नागरिकता विधेयक प्रमाणीकरण पनि नगर्ने मुडमा राष्ट्रपति

डिसी नेपाल
९ भदौ २०७९ १०:१९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पदबाट राजीनामा दिनेबारे नसोचेको बताएकी छिन्।

राष्ट्रपति राजीनामा दिने मुडमा रहेको भन्दै सत्तारुढ दलहरुभित्र व्यापक हल्ला भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित ६७ जना सैनिक अधिकारीसामु राष्ट्रपति भण्डारीले राजीनामा नदिने प्रष्ट पारेकी थिइन्।

सेनापति शर्मासहित वर्तमान र भूतपूर्व सैनिक अधिकारीहरुसँग लामो कुराकानीका क्रममा बुधबार राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा र समसामयिक राजनीतिक अवस्थाले त्यसमा पार्ने असरबारे परामर्श गरेकी थिइन्।

सेनापतिसहित अधिकांश जर्नेलहरुले विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने सुझाव दिएका थिए। सबैका सुझाव सुनेपछि राष्ट्रपति भण्डारीले आफूले उठाएका विषयमा राष्ट्रिय सभाले गहन छलफल गरेर ती विषयहरुलाई सम्बोधन गर्छ भन्ने आफूलाई लागेको बताएकी थिइन्।

उनले यो प्रक्रियाका लागि लाग्ने दुई महिनाको समय कुरेर हेर्न आग्रह गर्दै सैनिक अधिकारीहरुले अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरणका लागि ल्याए आफूले प्रमाणीकरण नगर्ने संकेत गरेकी थिइन्।

राष्ट्रपति राजीनामा दिने मुडमा रहेको भन्दै सत्तारुढ दलहरुभित्र व्यापक हल्ला भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित ६७ जना सैनिक अधिकारीसामु राष्ट्रपति भण्डारीले राजीनामा नदिने प्रष्ट पारेकी थिइन्।

अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाइए त्यसलाई प्रमाणीकरण नगरी समय लम्ब्याउने, तन्काउने र देशवासीका नाममा संबोधन गर्दै यथार्थ कुरा जनतासामु राख्नुपर्ने सुझाव पूर्वसैनिक अधिकारीहरुले दिएका थिए।

सहभागी एक पूर्वसैनिक जर्नेलका अनुसार, यस्तो विधेयक प्रमाणीकरण नगरेर अडान राखे राष्ट्रपतिलाई इतिहासले उच्च मूल्यांकन गर्ने र सो अडानलाई नेपाली सेनाले पूर्णरुपमा सहयोग गर्नेबारे राष्ट्रपतिलाई आश्वस्त पार्ने प्रयास गरिएको थियो।

सैनिक जनरलहरुसंगको कुराकानीमा कतिपयले सर्बोच्च अदालततिर पठाइदिने विकल्प हुनसक्छ कि भन्ने सुझाव दिएका थिए भने कतिपयले अहिलेको अवस्थामा सर्बोच्च अदालतले पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण विषय नागरिकतबारे अडान राख्न नसक्ने खतरा भएकाले सर्बोच्चको राय लिनेतिर लाग्नु हानिकारक हुने सुझाव पनि राष्ट्रपति भण्डारीलाई दिएका थिए। यो भेटपछि सहभागीहरुका लागि राष्ट्रपति निवास शीतलनिवासमा रात्रिभोजसमेतको आयोजना गरिएको थियो।

राष्ट्रपति भण्डारीले सेनापतिसहित सैनिक जर्नेलहरुसँग भेट गर्ने कार्यक्रम तय भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा भने सशंकित भएको बताइएको छ। उनले गृहमन्त्री बालकृष्ण खाणलाई के कुरा हो त्यो भन्ने बुझ्न अह्राएको र गृहमन्त्री खाणले सेनापति प्रभुराम शर्मासँग हिजै भेट गरेका थिए।

नागरिकता विधेयक प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याइदिए त्यसपछि आउने संबैधानिक राजनैतिक संकट के हुन्छ भन्नेबारे राजधानीमा बहश शुरु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *