आतंकवाद सम्बन्धी मुद्दा लागेका इमरान खान आज अदालतमा हाजिर हुने

डिसी नेपाल
९ भदौ २०७९ ११:०७
20
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज इस्लामावादको आतंकवाद विरोधी अदालतमा हाजिर हुने भएका छन् । यसअघि अगस्ट २२ मा उनलाई आतंकवादी मुद्दामा तीन दिनको जमानत दिँदै अदालतले २५ अगस्टमा हाजिर हुन आदेश दिएको थियो । इमरान खानले हालै एक र्‍यालीमा प्रहरी र न्यायपालिकालाई धम्की दिएको आरोप छ।

आतंकवाद विरोधी ऐनको धारा ७ अन्तर्गत दायर गरिएको मुद्दामा भनिएको छ कि इमरान खानले आफ्नो भाषणमा “शीर्ष प्रहरी अधिकारीहरू र एक सम्मानित महिला न्यायाधीशलाई धम्की दिए” र उनको उद्देश्य उनीहरूलाई काम गर्नबाट रोक्ने र उनीहरूलाई आफ्नो पार्टी पीटीआईका कुनै पनि व्यक्ति विरुद्ध कारबाही गर्नबाट रोक्ने थियो।

इमरान खानले यस र्‍यालीमा आफ्नो पार्टीका सहकर्मी शाहबाज गिललाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको आरोपमा इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको निन्दा गरेका थिए।

इमरानले आफ्नो भाषणमा आफ्ना सहकर्मी शाहबाज गिललाई दुर्व्यवहार गरेको आरोपमा उच्च प्रहरी अधिकारी, एक महिला मजिस्ट्रेट, निर्वाचन आयोग र आफ्ना राजनीतिक विरोधीहरू विरुद्ध मुद्दा दायर गर्ने धम्की दिएका थिए।

पाकिस्तानमा आतंकवादको आरोपमा कडा दण्डात्मक कारबाही गरिन्छ र यदि इमरान खान यस मामिलामा दोषी पाइयो भने उनलाई धेरै वर्ष जेल सजाय हुन सक्छ। इमरान खान अदालत पुग्दा उनका हजारौं समर्थक पनि त्यहाँ पुग्न सक्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *