टिकट नपाउने त्रासमा कोइराला समूहका नेता !

सम्भव सिंह ठकुरी
१० भदौ २०७९ ७:१५

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट संस्थापन इतर समूहको नेतृत्व गरेको डा.शेखर कोइराला समूहका नेताहरु यतीबेला आफ्नो समूहका नेताहरुले टिकट नपाउने हो कि भन्ने त्रास देखिएको छ।

सत्तागठबन्धनले टिकट बाँडफाँटका लागि बनाएको कार्यदल आजसम्म पनि अनिर्णित छ। तर कांग्रेसले पाएको निर्वाचन क्षेत्रमा नै कोइराला समूहका अधिकांक्ष नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभाको टिकट पाउनेमा आशंका बढेको छ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका कोइराला समूहका नेताहरुलाई अझैसम्म पनि विश्वासमा लिन सकेका छैनन्।

कोइराला समूहले सभापति देउवाले पार्टीमा एकलौटी निर्णय गरेको र पार्टीलाई चलायमान बनाउन नसकेको,पार्टीलाई भन्दा गठबन्धनलाई प्राथकिमतामा राखेको आरोप लगाउँदै आएका छन्।

देउवाले केन्द्रीय सदस्यहरु मनोनयन गर्दा न्यायोचित ढंगबाट नगरेको पार्टीको भ्रातृ संस्थाको अध्यक्ष चयन गर्दा आफूहरुसँग छलफल नगरेको र लामो समयदेखि भ्रातृ संस्थाहरुलाई पूर्णता दिन नसकेको आरोप लगाइ रहेका छन्।

देउवाले पनि २३ जना केन्द्रीय सदस्य मनोनित गर्दा कोइराला समूहबाट दुईजनालाई मात्र मनोनित गरेका छन्। र पाँच भ्रातृ संस्थाको अध्यक्षमा पनि देउवा समूहबाट मात्र मनोनित भएका छन्। साउन ३१ गते मनोनयन गरेको केन्द्रीय सदस्यमा कोइराला समूहबाट किरण यादव र रुक्मिणी कोइराला मात्र रहेकी छिन्।

देउवाले टिकट वितरणमा पनि न्यायोचित व्यवहार गर्नेमा आशंका

भातृ संस्थाको अध्यक्ष मनोनयन, केन्द्रीय सदस्यहरुको मनोनयन, उपसभामुख चयनको निर्णय, पार्टीको प्रमुख सचेतक,सचेतक मनोनयन गर्दा आफ्नो समूहसँग कुनै पनि छलफल नगरेको कारण असन्तुष्ट जनाउँदै आएको कोइराला समूहलाई टिकट वितरणमा पनि न्यायोचित व्यवहार गर्नेमा आशंका उत्पन्न गराएको छ।

कोइराला समूहका नेता जगदिश्वरनर सिंह केसीका अनुसार पनि सभापति देउवाले अहिलेसम्मको निर्णयमा पार्टीको इतर समूहलाई कुनै पनि वास्ता नगरेको र पेल्नमात्र खोजेका छन्।

केसीका अनुसार भापतिले जे सुकै निर्णय गर्दा समूहिक छलफलमा जानुपर्छ। तर सभापति एकलौटी निर्णय गरेर पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिएको कारण चुनावमा एकताको सन्देश दिन नसकेका छैनन्।

‘सभापतिज्यू पार्टीको इतर समूहको नेतासँग भन्दा गठबन्धनको नेतासँग धेरै छलफल गर्नुहुन्छ।पार्टीको इतर समूहसँग एक घण्टा पनि छलफल गर्नुहुन्न।अब चुनाव पनि आउन लागिसक्यो अहिलेसम्म पार्टीमा एकता कायम गर्न सक्नु भएको छैन,’ केसीले भने, ‘अबको आवश्यक्ता भनेको पार्टीमा न्यायोचित व्यवहार र हिजो उहाँले स्थापित गर्नुभएको नजिरलाई हटाउने हो। तर हिजैको नजिर स्थापित भयो भने पार्टीले ठूलो क्षति व्यहोर्नु पर्छ।’ आउँदो निर्वाचनमा देउवाले कोइराला समूहसँग शक्ति सन्तुलन मिलाउनु पर्ने उनको माग रहेको छ।

शेखर-गगन सुरक्षित अरुलाई सकस

यो समूहको नेतृत्व गरिरहेका डा.कोइराला र महामन्त्री गगन थापालाई टिकट पाउन सकस देखिँदैन। तर यही समूहबाट पदाधिकारीमा निर्वाचित भएका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्रि पाण्डे,जीवन परियार केन्द्रीय सदस्यहरु अर्नुननरसिंह केसी, बलबहादुर केसी, डा.गोविन्द्रराज पोखरेल, अजयबावु सिवाकोटी, दिनेश कोइराला, संजय गौतमलगायत दर्जनौँ नेताहरुले टिकटका लागि ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ।

शेखर कोइराला

अघिल्लो निर्वाचनमा मोरङ-६ बाट उम्मेदवार बनेका कोइराला अबको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। उनीसँगै यो क्षेत्रबाट डिला संग्रौला र रमेशजंग रायमाझीले पनि आकांक्षा व्यक्त गरेका छन्। तर कोइराला जतिको प्रभाव जिल्ला र केन्द्रमा उनीहरुको नभएकाले यहाँ कोइरालाले टिकट पाउने निश्चित जस्तै भएको कोइराला निकटका नेताहरु बताउँछन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबा एमाले नेता लालबावु पण्डितले कोइरालालाई झिनो मतान्तरले पराजित गरेका थिए। त्यसकारण गठबन्धन गर्दा एमालेले जितेको निर्वाचन क्षेत्रमा कांग्रेसले पाउने सम्भावना ज्यादा भएकाले पनि कोइरालाको टिकट सुरक्षित देखिन्छ।

गगन थापा

यो समूहबाट महामन्त्री थापाको टिकट सबैभन्दा सुरक्षित देखिन्छ।थापा अघिल्लो निर्वाचनमा बामगठबन्धनका उम्मेदवार तथा एमाले नेता डा.राजन भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसमाथि उनी टिकट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्य पनि हुन्।

धनराज गुरुङ

उपसभापति गुरुङलाई टिकट पाउन सहज छैन। स्याङ्जा–१ बाट उम्मेदवार बन्न तयार गरेका गुरुङका लागि केन्द्रबाट भन्दा पनि जिल्ला मिलाउन सकस परेको स्याङ्जाका एक नेता बताउँछन्।

२०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सभासद् भएका गुरुङ ०७४ सालको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा थिए। तर पार्टीले क्षेत्र नं १ बाट राजु थापा र क्षेत्र नं २ बाट गोपालमान श्रेष्ठलाई टिकट दिएको थियो।

अहिले गुरुङको क्षेत्रबाट उनै थापा पनि उम्मेदवारी बन्ने आकांक्षीका रुपमा देखिएका छन्। थापा जिल्ला सभापति पनि हुन्। उनलाई मिलाउन सकेमात्र गुरुङको टिकट सुरक्षित हुने विश्लेषण भएको छ।

बद्रि पाण्डे

सहमहामन्त्री बद्रि पाण्डे अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा अहिलेसम्म उम्मेदवार भएका छैनन्।२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका पाण्डे त्यसपछि राष्ट्रियसभा सदस्य भएका थिए।

अहिले उनी बाजुराबाट प्रत्यक्ष निर्वाचनमा उठ्ने तयारीमा छन्। सुदूरपश्चित प्रदेशमा पर्ने बाजुरा जिल्लामा अहिले जिल्ला सभापति पाण्डे निकट कै छन्। त्यसकारण पनि पाण्डेलाई टिकटमा खासै सकस नपर्ने उनी निकटका नेताहरु बताउँछन्।

जिल्ला सभापतिमा रामसिंह रावलले देउवा समूहका कविराज पण्डितलाई पराजित गरेका थिए। देउवा समूहबाट उनै पण्डित आकांक्षी भएपनि पदाधिकारी भएकाले पाण्डेले नै टिकट पाउने ती नेताको दावी रहेको छ।

जीवन परियार

सहमहामन्त्री परियारको निर्वाचन क्षेत्र कास्की-१ पर्दछ। अहिले पनि उनी सोही क्षेत्रबाट उम्मेदवारी बन्ने तयारीमा जुटेका छन्। २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद भएका परियार २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ १ (क) मा उम्मेदवार बनेका थिए। कास्की–१ मा अघिल्लो निर्वाचनमा एमाले नेता खगराज अधिकारी निर्वाचित भएका थिए।

प्रदेशसभातर्फ १ (क) मा भने माओवादी केन्द्रका दीपक कोइरालाले जितेका कारण परियारले टिकटका लागि गठबन्धनभित्रबाट टिकटको लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। पार्टीबाट भने पूर्वसांसद यज्ञबहादुर थापा र जिल्ला सभापति किशोरदत्त बराल पनि आकांक्षी छन्।

अर्नुननरसिंह केसी

पूर्वसहमहामन्त्री केसी नुवाकोट-२ बाट प्रतिनिधित्व गर्छन्।पार्टी राजनीतिमा बलियो प्रभाव राख्ने केसी अहिले सभापति देउवाको कट्टर आलोचकमध्येमा पर्छन्।
१३ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका केसी र देउवाको सम्वन्ध १४ औँ महाधिवेशनसम्म्म आउँदा खासै सुमधुर हुन सकेको छैन।

अहिले यो क्षेत्रबाट देउवा निकट नेता बहादुरसिंह लामाले पनि दावी गर्दै आएका छन्। देउवाले लामाको पक्षमा अडान लिए केसीले टिकट नपाउने सम्भावना ज्यादा रहेको छ। तर पार्टीको प्रभावशाली नेता भएकाले र कार्यदलका सदस्य गगन थापा भएकाले केसीले नै टिकट पाउने उनी निकटका एक नेता बताउँछन्। महामन्त्री थापा केसीको ज्वाँई हुन्।

बलबहादुर केसी

बहुदलयता सबै निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार भएका केसी यो पटक पनि उम्मेदवार बन्ने तयारीमा छन्। तर उनलाई टिकटका लागि गठबन्धनसँगै पार्टी भित्रबाटै चुनौती थपिएको छ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका हेमराज राईले सोलुबाट जितेका कारण गठबन्धनबाट यो क्षेत्र माओवादीलाई नै पर्न सक्ने सम्भावना पनि रहेको छ। माओवादीले पनि अघिल्लो पटकको निर्वाचनमा आफूले जितेको क्षेत्र आफैंले राख्नु पर्ने माग राख्दै आएको छ। यद्यपी यो प्रस्तावमा कांग्रेस सकारात्मक छैन। यो क्षेत्र कांग्रेसको भागमा परेपनि देउवा समूहका नेता आङ्गेलु शेर्पाले पनि दावी गरेका कारण केसीले शेर्पा मिलाउनुपर्ने हुन्छ।

संजय गौतम

बर्दिया १ बाट निर्वाचित नेता गौतमले अघिल्लो निर्वाचनमा बामगठबन्धन तथा एमालेका उम्मेदवार बामदेव गौतमलाई पराजित गरेपछि उनको चर्चा निकै चुलिएको थियो।
यो निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार दिने तयारीमा जुटेका छन्।

तर बामदेव अहिलेको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिन सहमत भएका कारण गौतम प्युठान र बर्दियामध्ये एक क्षेत्रबाट उम्मेदवा बन्न सक्ने भएकाले संजयका लागि संकट बढेको छ।

डा. गोविन्द पोखरेल

केन्द्रीय सदस्य पोखरेलको निर्वाचन क्षेत्र प्युठान हो। तर यो क्षेत्रबाट उनले टिकट पाउन सम्भावना न्यून रहेको छ। अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका पोखरेल यो निर्वाचनमा पनि स्वाभाविक दावेदार हुन्। तर बामदेव गौतम र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि प्युठानबाटै उम्मेदवार हुन चाहेका कारण पोखरेलको सम्भावना न्यून भएको विश्लेषण गरिन्छ।

गुरुराज घिमिरे

पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे मोरङ–४ बाट उम्मेदवारी दिने बताउँदै आएका छन्। तर उनले टिकट पाउन भने त्यति सहज छैन। यो क्षेत्रबाट पूर्वअर्थमन्त्री महेश आचार्यले प्रतिनिधित्व गर्दै आएका छन्। यही क्षेत्रबाट प्रतिनिधित्व गरेका आचार्य पटक-पटक मन्त्री भइसकेका व्यक्ति हुन्।

अघिल्लो निर्वाचनमा पनि उनै आचार्य बामगठबनधनका उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए। तर यता घिमिरे भने आचार्य समानुपातिकमा बसेर टिकट आफूले पाउनुपर्ने दावी गर्दै आएका छन्।

देवराज चालिसे

१४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएका चालिसे कांग्रेसको बौद्धिक नेताका रुपमा मानिन्छन्। कास्कीका चालिसे क्षेत्र नम्बर–२ बाट उम्मेदवारी बन्ने आकांक्षा देखाएका छन्। तर उनलाई देउवा समूहका गुरु बरालको चुनौती रहेको छ। बराल पनि टिकटको दावी गर्दै आएका छन्।

दिनेश कोइराला

२०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमहानगरपालिकामा कांग्रेसबाट मेयरको टिकट पाएपनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो।
पार्टीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने निर्णय गरेपछि उनको टिकट अन्तिम समयमा खोसिएको थियो।

तर उनी १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनै कोइराला चितवन-३ बाट उम्मेदवार बन्न चाहन्छन्। यो पटक पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही क्षेत्रबाट उम्मेवार बन्ने भएकाले उनको सम्भावना न्यून भएको विश्लेषण गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *