गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड
फाइल फोटो
काठमाडौं। राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ ।श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।
श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए। बाबुको मुख हेर्ने पर्वका अवसरमा शनिबार पनि गोकर्णेश्वरमा मेला लाग्ने गर्छ ।
पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भीड लागेको हो । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु नहुने भन्दै श्रद्धालु भक्तजनको मन्दिर क्षेत्रमा भीड लागेको छ । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ ।
पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । पिता जीवित हुनेले भने भाद्रकृष्ण औँसीका दिन मीठा खानेकुरा खान दिई बाबुको मुख हेर्छन् । बाबुको मुख हेर्ने पर्व यस वर्ष शनिबार परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी तीर्थ श्राद्धमा मघा नक्षत्र बार्नु नपर्ने बताउँछन् । तीर्थ श्राद्धमा समय पनि बार्नु नपर्ने र जुन समयमा पुग्यो त्यही समयमा गर्न सकिने उनले जानकारी गराए। मघालाई नै लिएर गरिने श्राद्धमात्र छोरा हुनेले गर्नु नहुने शास्त्रीय मान्यता रहेको अध्यक्ष अधिकारीले बताए । मघा नक्षत्र परेका दिन गरिने तिथि विशेषको श्राद्धलाई मघा श्राद्ध भनिँदैन । सोह्र श्राद्धमा भने मघा नक्षत्र परेका दिन श्राद्ध नगरिने समितिले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment