झापाका किसानले अझै राहत पाएनन्

डिसी नेपाल
१३ भदौ २०७९ २२:२०

झापा । झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए । अविरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ । अविरल वर्षाको कारण यहाँको २१ हजार नौ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको थियो ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कअनुसार झापाका १५ वटै पालिकामा वर्षाले क्षति पुर्‍याएको थियो । वर्षाका कारण झापामा ३७ करोड ६४ लाख ३२ हजार दुई सय सय ९१ रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । कृषकलाई राहत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पटकपटक आग्रहसहित पत्र पठाए पनि हालसम्म अर्थ मन्त्रालयले बजेट नपठाउँदा किसानलाई राहत रकम उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *