१२ नेपाली युवा गुमाएको इराक घटना स्मृतिबाट हराउँदै

डिसी नेपाल
१६ भदौ २०७९ १४:५१

काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ।

आजभन्दा १८ वर्षअघि अर्थात् १६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भयो। काठमाडौं उपत्यकामा कर्फ्यू जारी गर्नुपरेको थियो।

रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे। बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो।

वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारहरूले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आजपर्यन्त छ । केही वर्षअघि अफ्गानिस्तानको काबुलामा आतंकवादी समूहको आक्रमणमा परी १२ जना नेपालीले पनि ज्यान गुमाउनुको परेको थियो।

इराकमा भएको विभत्स घटनाको भिडियो सार्वजनिक भएसँगै काठमाडौं उपत्यका बढेको हिंसात्मक घटनाले म्यानपावरका कार्यालय, मस्जिद, मुस्लिम समुदायका व्यापार व्यवसाय, सञ्चारगृह तोडफोड हुँदा करोडौं क्षति भएको थियो। अहिले पनि भइरहने विदेशी भूमिमा नेपालीको हत्यालाई रोक्न सरकारले सकेको छैन, यसले कुनै पनि बेला १६ भदौको कालो दिन नदोहोरिएला भन्न सकिँदैन।

इराक घटना सार्वजनिक भएकै दिन १६ भदौ २०६१ मा करिब तीन सय म्यानपावर कार्यालयमा आगजनी हुँदा २९ सयभन्दा बढी भिसा लागेका राहदानी र करिब ६ हजार भिसा नलागेका राहदानी जलेर नष्ट भएको थियो। म्यानपावर व्यवसायीहरूले १६ भदौलाई कालो दिनको रुपमा लिने गरेका छन्।

सुरुका वर्षमा जस्तो यस वर्ष घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली सभा कार्यक्रम राखेका छैनन्। जस कारण उक्त घटना नेपालीको स्मृतिबाट हराउँदै गएको हो कि भन्ने आभास दिलाउन थालेको छ। न याे घटनाबारे सरकारले चासाे राखेकाे छ, न त निजी क्षेत्रले नै इराक घटना सम्झन चाहेका छन्। अहिले पनि अवैध ढंगले राेजगारीका लागि इराक जान नेपाली युवायुवतीले छाडेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *