पर्यटक लोभ्याउँदै बेतना सिमसार

डिसी नेपाल
१७ भदौ २०७९ ०:००

मोरङ । मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

बेतना सिमसारमा दैनिक करिब आठ सयदेखि एक हजारसम्म आगन्तुक आउँछन् । यहाँ स्थानीयलगायत भारतको दार्जिलिङ, सिक्किम र बङ्गलादेशबाटसमेत पर्यटक घुम्न आउने गर्छन् ।

घुमफिर तथा सुन्दर प्राकृतिक दुश्यावलोकनलाई पूर्वमा पहिलो रोजाइ बन्ने गरेको छ यो क्षेत्र । यहाँ माछा, कछुवा, चराचुरुङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् । बेतना सिमसारमा रहेको विशाल तथा सुन्दर पोखरीमा डुङ्गा सयरको आनन्दमा रमाउनेहरु पनि उत्तिकै भेटिने बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताए ।

यहाँ अध्ययन अवलोकनका लागि बिदाको दिन शिक्षक विद्यार्थीकोसमेत अहिले चहलपहल बढेको छ । बालबालिकालगायत बुढाबुढी सबैका लागि आनन्द साथ घुमफिरमा बेतना सिमसारले मन खिच्ने गरेको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत राजमार्ग नजिकैको यो क्षेत्र बेलबारीबाट करिब एक किलोमिटरपूर्वमा अवस्थित भएकाले यहाँ आउनेजानेको लागि यातायातको सुविधा रहेको अध्यक्ष बस्नेतले बताए । यहाँको प्राकृतिक वातावरणमा रमाउन जाने तथा फोटो खिच्ने र टिकटक बनाउने अहिले निकै हुने गरेका छन् । यहाँ पुगेर जङ्गल, सिमसार र पोखरीको अवलोकन गर्न सकिन्छ । बेतना सिमसार आसपास ससाना होटल व्यवसायलगायत विभिन्न प्रकारका व्यापार व्यवसाय फस्टाउन थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *